राजविराज– असार अन्तिम साता भएको लगातारको वर्षापछिको बाढी तथा डुबानका कारण सिरहा र सप्तरीमा ३ हजार ७ सय २५ हेक्टरमा लगाएको धानबालीमा क्षति पुगेको छ।
कृषि ज्ञान केन्द्र राजविराजका अनुसार सप्तरीका ५ वटा स्थानीय तहमा मात्रै ३ हजार १ सय २५ हेक्टर धान खेतीमा क्षति पुगेको छ भने सिरहामा ६ सय हेक्टर धान बाली नष्ट भएको छ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा २ हजार ६, तिलाठी कोइलाडी गाउँपालिकामा २ सय ५०, राजगढ गाउँपालिकामा १ सय, छिन्नमस्ता गाउँपालिकामा १ सय र डाकनेश्वरी नगरपालिकामा ७५ हेक्टर क्षेत्रफलमा लगाइएको धानबालीमा क्षति पुगेको कृषि अर्थविद् किसुनदेव राउतले बताए।
यसैगरी, सिरहाको कल्याणपुरमा १ सय २०, सिरहा नगरपालिकामा २ सय, औरहीमा १ सय ५०, बरियारपट्टीमा ८० र भगवानपुरमा ५० हेक्टर गरी कूल ६ सय हेक्टर धान खेतीमा क्षति भएको उनले जानकारी दिए।
सप्तरीमा ७५ हेक्टरको तरकारीबाली नष्ट
बाढीले सप्तरीमा ७५ हेक्टर क्षेत्रफलमा लगाएको तरकारी खेति नष्ट गरेको छ। ज्ञान केन्द्रका अनुसार राजविराज नगरपालिकामा २५ र हनुमाननगर कंकालिनी नगरपालिकामा ५० हेक्टर तरकारी खेति नष्ट भएको कृषि अर्थविद् राउतले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।