चितवन- रत्ननगर नगरपालिकाले पूर्वपश्चिम राजमार्गका दुई स्थानमा आकाशे पुल निर्माण गर्ने भएको छ। नगरपालिकाको मुख्य बजार क्षेत्र पर्ने सौराहा चोक र टाँडी चोकमा आकाशे पुल निर्माण गर्न लागिएको हो।
नगरपालिकाका प्रमुख नारायण वनका अनुसार यसै आर्थिक वर्षबाट काम सुरु गर्न नगरपालिकाले १ करोड ४० लाख बजेट विनियोजन गरेको छ। थप बजेटका लागि प्रदेश सरकार र सङ्घीय सरकारका सांसदहरुसँग अनुरोध गरिएको उनले बताए।
आकाशे पुल निर्माणका लागि विस्तृत अध्ययन प्रतिवेदन तयार भइसकेको छ। नगरपालिकाका योजना शाखा प्रमुख इन्जिनियर प्रकाश ढुङ्गानाका अनुसार दुई वटा पुल सम्पन्न गर्न ९ करोड ५० लाख रुपैयाँ लाग्नेछ। सडक चौडा भएमा सार्न मिल्ने गरी फलामको पुल निर्माण गर्न लागिएको हो। ढुङ्गानाले राजमार्ग फराकिलो हुने सम्भावना भएकाले बढाउन मिल्ने गरी नक्साङ्कन गरिएको बताए।
सडकको दुवैतर्फ घना बस्ती भएकाले विद्यार्थी, वृद्धवृद्धा, फरक क्षमता भएका मानिससँगै सर्वसाधारणलाई राजमार्ग पार गर्न कठिन हुँदै आएको छ। यी पुल समयमै सम्पन्न भएमा जिल्लाकै पहिलो आकाशे पुल हुनेछन्।
नगरपालिकाको सौन्दर्यतालाई समेत ध्यानमा राखेर आकर्षक पुल बनाइने प्रमुख वनले जानकारी दिए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।