काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनकपुर उपमहानगरपालिका जनकपुरधामका प्रमुख प्रशासकीय अधिकृत अर्जुनप्रसाद सुवेदीसमेत ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आर्थिक वर्ष ०७४/७५ मा विद्युतीय सामग्रीहरू खरिद गर्दा अनियमितता भएको भन्दै उनीहरुविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो। अख्तियारले उनीहरुसँग कुल ११ लाख बिगो असुल हुनुपर्ने दाबी गरेको छ।
जनकपुर उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत (उपसचिव) सुवेदीसमेतले सत्या इन्टरप्राइजेजका मनिष कुमार मिश्रसँग मिलेमतो गरी ११ लाख ३५ हजार ४ सय ११ रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ।
प्रशासकीय अध्यक्ष सुवेदीले अनुचित प्रभावमा परी खरिद सम्बन्धी कोटेसन माग गरी सत्या इन्टरप्राइजेज समेतका तीन वटा फर्मको नाममा मिलेमतो गरी एउटै व्यक्तिको हस्तलिपिबाट दररेट पेस गर्न लगाई ठेक्का दिएको अख्तियारको आरोपपत्रमा उल्लेख छ।
सत्या इन्टरप्राइजेजसँग एक आर्थिक वर्षमा पटकपटक सीमाभन्दा बढी मूल्यमा स्वीकृत दररेटभन्दा बढी प्रकारका विद्युतीय सामग्रीहरू खरिद गरिएको अख्तियारले उल्लेख गरेको छ। अख्तियारले सत्या इन्टरप्राइजेजका मनिषकुमार मिश्रसँग पनि ११ लाख बराबर बिगो असुल हुनुपर्ने माग आरोपपत्रमा गरेको छ।
अख्तियारले उपसचिव सुवेदी, उपसचिव मदन घिमिरे, शाखा अधिकृत ललनकुमार लाल कर्ण, लेखापाल दिनेश चौधरी र नायव सुब्बा अब्दुल जब्बारलाई समेत भ्रष्टाचार मुद्दा दायर गरेको छ। उनीहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार बिगो र कैद सजाय हुनुपर्ने आरोपपत्रमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।