काठमाडौं- राष्ट्रिय मानव अधिकार आयोगले द्वन्द्वकालीन मुद्दामा गम्भीर चासो व्यक्त गरेको छ। मंगलबार सत्य निरूपण तथा मेलमिलाप आयोगसँग छलफल गर्दै आयोगले चासो प्रकट गरेको हो।
आयोगका सदस्य सुदिप पाठक नेतृत्वको टोलीले सत्य निरूपण तथा मेलमिलाप आयोगका सचिव ऋषि राजभण्डारी तथा कर्मचारीसँग आयोगको कार्यालय बबरमहलमा भेटघाट तथा छलफल गरेको हो।
टोलीले आयोगमा दर्ता भएका उजूरीहरू, उजूरीउपर भएको प्रारम्भिक तथा विस्तृत छानबिनको अवस्थाका सम्बन्धमा जानकारी लिनुका साथै उजुरी फाइलको व्यवस्थापन र सुरक्षा अवस्था अवलोकन गरेको छ।
छलफलको क्रममा दुवै आयोगबीच संक्रमणकालीन न्यायको व्यवस्थापनमा एक आपसमा समन्वय र सहकार्यबाट अगाडि बढ्ने विषयमा समेत छलफल भएको थियो।
आयोगको टोलीमा आयोगका कर्मचारीहरू समेतको उपस्थिति रहेको आयोगका प्रवक्ता वेद भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।