सरकारले प्रदेशको अस्थायी मुकाम तोक्नेबित्तिकै देशभर आन्दोनल चर्किएको छ। आन्दोलनकारीको निहित उद्देश्य छ, आफ्नो 'घर-आँगन'मै प्रादेशिक राजधानी। राजधानीको बहस उठिरहँदा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे प्रादेशिक राजधानी आफ्नो जिल्ला भक्तपुरमा नहोस् भन्ने मत राखिरहेका छन्। भक्तपुरमा राजधानी राख्न उचित नहुने तर्कसहित सार्वजनिक रुपमै उभिएका उनी एक्ला नेता हुन्।
प्रदेशको अस्थायी राजधानी तोक्दैमा किन आन्दोलन उठिरहेको छ? यसको समाधान के त? यिनै विषयमा बिजुक्छेसँग नेपाल लाइभका हिम विक्रमले गरेको कुराकानी:
सरकारले प्रदेशको अस्थायी राजधानी तोक्नेबित्तिकै आन्दोलन उठ्यो, यसमा तपाईंको धारणा के हो?
सरकारले अस्थायी राजधानी तोकेको हो। अब बस्ने प्रदेश बैठकले दुई तिहाईले सो निर्णयलाई सच्याउन सक्छ। पहिलो कुरा, प्रदेशसभाको बैठक बस्नुपर्यो र निर्णय गर्न दिनुपर्यो।
सबैलाई खुकुलो हुनेगरी निर्णय हुन आवश्यक छ। हाम्रो देशमा दुर्गम जिल्लाहरु धेरै छन्। संघीय राज्यको एउटा फाइदा र उद्देश्य भनेको दुर्गम क्षेत्रमा पनि प्रशासनिक संयन्त्र पुग्छ भन्ने हो। सबै सुगम क्षेत्रमा मात्र राख्ने भए दुर्गम कहिले विकास हुने? दुर्गममा राजधानी बस्यो भने विकास, निर्माण र समृद्धि हुन्छ।
अघिल्लो सरकारले अस्थायी राजधानी तोक्न गठन गरेको कार्यदलले उच्च अदालत भएका स्थानमा अस्थायी मुकाम तोक्न सुझाएको थियो। अहिलेको सरकारको निर्णय यसमा कत्तिको जिम्मेवार छ?
सरकारले आफ्नो आँखाले हेर्ने हो, सजिलो सजिलो कुरा गर्ने हो। हामीले रोज्ने भनेको जनतालाई कहाँ राख्दा सुगम हुन्छ भन्ने नै हो। कति जनतालाई फाइदा हुन्छ त्यसरी हेर्ने हो। सुगम मात्र हेर्ने भए काठमाडौंमै ल्याएर सबैको राजधानी राखे भइहाल्यो नि! यहाँ सबै सुगम छ। मोटर चल्छ, हवाईजहाज चल्छ। त्यसकारण सरकारको आँखा र जनताको आँखा धेरै फरक हुन्छ।
आगजनी र तोडफोडको घटना पनि भइरहेका छन् नि। यसको औचित्य के?
यसमा त घर-जग्गावाला पनि सक्रिय हुन्छन्। आफ्नो ठाउँमा राजधानी बनाउन पाएपछि आफ्नो जग्गा बिक्छ, मूल्य बढ्छ भन्ने सोच छ। नाफाको कुरा आयो नि। पसल राख्ने लगायतका विभिन्न आर्थिक क्रियाकलाप बढ्न भन्ने कुरा हो। ठेक्कापट्टा गर्नेलाई पनि यसमा फाइदा हुन्छ।
त्यसैले अब राजनीतिक पार्टीहरुको समाधानका लागि बैठक राख्नु जरुरी छ। प्रतिनिधि पनि निर्वाचित भइसकेको अवस्थामा सामूहिक बैठकले मात्र समस्या समाधानका लागि निर्णय लिन सक्छ।
प्रदेश ३ को अस्थायी राजधानी हेटौंडा तोकिएपछि भक्तपुरमा समेत आन्दोलनको घोषणा गरिएको छ। प्रादेशिक राजधानी बन्न नदिन भूमिका खेलेको भनेर तपाईंमाथि आरोप लगाइएको छ। यसमा के भन्नुहुन्छ?
राजनीतिक पार्टी भएसम्म त्यस्तो त गर्ने नै हुन्छ। पक्ष र विपक्ष हुने नै भयो। व्यक्तिगत रुपमा फाइदा लिन खोज्ने पनि हुन्छन्। सबै काठमाडौंमा ल्याएर राख्ने हो भने त अर्थ नै लागेन नि। जहाँको जनतालाई अप्ठेरो परेको छ, त्यही ठाउँमा सबै सुविधा पुग्नुपर्यो भन्ने हिसाबले हेर्नुपर्छ। सन्तुलित विकासलाई ध्यान दिएर हेर्नुपर्यो। स्वार्थले होइन।
संघीयतामा कार्यान्वयनको चरणमा जसरी जटिलता देखिँदै छ, यसको समाधान कसरी गर्ने त?
समाधानको उपाय त छलफलबाटै हो। राजधानी यहाँ राखेपछि यति राम्रो, त्यहाँ राखेपछि त्यति नराम्रो भनेर जनतालाई थाहा त दिनुपर्यो नि! जबरजस्ती गरेर समस्या झन् बल्झिन्छ। विश्वविद्यालयमा हाजिरी नै नगरी सुटुक्क पास गर्नुपर्छ, सबैलाई सर्टिफिकेट बाँड्नुपर्छ भन्ने तरिकाले आन्दोलन गरेर उचित होला र?
सबै आन्दोलन सही नै हुन्छ भन्ने होइन। कति आन्दोलन निश्चित स्वार्थका लागि तय हुन्छन्। त्यसलाई भड्काइएको हुन्छ। आफ्नो संगठनलाई विकास गर्नलाई गरेको हुन्छ। त्यो सबै कुरा गम्भीर रुपमा हेर्यो भने ठिक र बेठिक पत्ता लागिहाल्छ।
अहिलेको आन्दोलनमा राजनीतिक दलका केन्द्रीय नेताहरुले समेत समर्थन र अग्रसरता देखाइरहेका छन्। यसले त थप जटिलता निम्तने भयो नि, तपाईको सुझाव के छ?
हामीले आजलाई होइन भविष्यका लागि पनि राजनीति गरेका हौं। सस्तो लोकप्रियताका लागि यति गर्यौं उति गर्यौं भनेर भनियो भने पछि जनताले बुझ्नेछन् कि नेताहरुले नक्कली काम गरेर हामीलाई भड्काएको भन्ने। त्यसैले भड्काउने काम नेताले गर्नुहुन्न।
तपाईंकै गृह जिल्ला भक्तपुरमा सुरु भएको आन्दोलनप्रति जिल्लावासीलाई के भन्न चाहनुहुन्छ?
यस विषयमा केही पनि भन्न चाहन्न। आफ्नो मात्र हेर्ने होइन, भक्तपुर त देशको सबैभन्दा सानो जिल्ला हो। अरु जिल्लाका जनतालाई पनि सही हुने काम गर्न सक्यौं भने हामीले अरुलाई अन्याय गरेको ठहर्दैन। अर्काको भावना र संवेदनशीलतालाई समेत हेर्नुपर्छ भन्ने मेरो विचार हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।