नेपालगन्ज– ग्रामीण क्षेत्रमा धान कुट्ने, मकै र गहुँ पिस्ने जस्ता काम वर्षाैंदेखि महिलाले गर्दै आएका छन्।
एक दशक पहिलेसम्म ग्रामीण क्षेत्रका महिलाले गर्ने प्रमुख काममध्ये घरायसी उपकरणका रुपमा रहेका ढिकीमा धान कुट्ने र जाँतोमा मकै तथा गहुँ पिस्ने थियो।
पछिल्ला वर्षमा गाउँगाउँमा डिजेलबाट चल्ने मिल तथा पानी घट्टहरु सञ्चालन हुन थालेपछि महिलाको काम धान, मकै, गहुँ जस्ता खाद्यान्न बोकेर मिलसम्म कुटाउन र पिसाउन जाने हुन थाल्यो। गाउँमा खुलेका मिल तथा पानी घट्टले महिलाको कामको बोझ केही हदसम्म भए पनि घटायो।
आधुनिक प्रविधिको विकास र बिस्तारसँगै तराईका ग्रामीण बस्तीमा मोबाइल मिल सुरु भएपछि भने महिलाले धेरै राहात पाएका छन्।
ट्याक्टरको पछिल्लो भाग (ट्राली)मा धान कुट्ने र मकै तथा गहुँ पिस्ने मेसिनहरु जडान गरिएका मोबाइल मिलले घरघरै पुगेर धान कुट्ने र मकै तथा तथा गहुँ पिस्ने काम गरिदिन थालेका छन्। जसले गर्दा मिलसम्म भारी बोकेर जानुपर्ने र पालो कुर्नुपर्ने वाध्यताबाट महिलाले राहत पाएका छन्।
बाँकेको राप्ती सोनारी गाउँपालिकाको बैजापुरमा अझै पनि विद्युत् सेवा पुगेको छैन।
सोलारबाट मोबाइल चार्ज गर्ने, टिभी हेर्ने र बत्ती बालेर दैनिकी चलाउने गर्दै आएकी स्थानीय सुष्मामा चौधरीले घरमा धान कुटाउन र मकै तथा गहुँ पिसाउन पर्यो भने गाउँकै मोबाइल मिल सञ्चालकलाई फोन गर्छिन्।

फोन गरेको केही समयमै मोबाइल मिलका सञ्चालक धर्मसिंह थारुले घरैमा मिल पठाइदिन्छन्। थारुलाई धान कुटाउने र मकै, गहुँ पिसाउन चाहानेहरुको फोन दिनभरि नै आइरहन्छ।
‘छिमेकीसँग पनि सल्लाह गरेर कम्तिमा ८–१० जना पुगेपछि फोन गर्न आग्रह गर्छु’, थारुले भने, ‘एउटै गाउँ, टोलमा धान कुटाउने र मकै, गहुँ पिसाउने ८–१० जना पुगेपछि मोबाइल मिल पठाइदिन्छु।’
घरमा मिल राख्दा भन्दा मोबाइल मिल चलाउँदा धेरै आम्दानी हुनेगरेको र गाउँका दिदी–बहिनीलाई पनि धेरै सजिलो हुने गरेको उनले बताए।
छिमेकी मुलुक भारतको सीमावर्ति गाउँहरुमा सञ्चालन भएको देखेपछि आफूले पनि मोबाइल मिल सुरु गरेको उनी बताउँछन्।
‘मोबाइल मिलबाट धान कुट्ने र मकै, गहुँ पिस्ने जस्ता काम गरिदिन्छन् र आफ्नो ज्याला लिएर फर्कन्छन्’, सुष्माले भनिन्, ‘हामीलाई धेरै सहज भएको छ।’
विगत २ वर्षदेखि राप्ती सोनारी गाउँमा २ वटा मोबाइल मिल सञ्चालनमा छन्।
मोबाइल मिलले गाउँगाउँमै पुगेर एक क्विन्टल धान कुटेको १ सय ४० रुपैया ज्याला लिने गरेको छ।
सिजन अनुसार मिल सञ्चालन गर्ने र मिलको काम नहुँदा ट्याक्टरमा अर्काे ट्राली जोडेर माल सामान ओसार्नेदेखि खेतबारी जोत्नेजस्ता काम गर्दै आएको मिलका सञ्चालक थारुले बताए। उनले भने, ‘एउटा ट्याक्टरलाई बहुउपयोग गरेर गाउँमा पनि सुविधा पुर्याएको छु, आफ्नो आम्दानी पनि बढाएको छु।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।