रुपन्देही- रुपन्देहीमा चोरी गर्ने गिरोह पक्राउ परेको छ। जिल्लाका विभिन्न स्थानमा मोटरसाइकल चोरीमा संलग्न ७ जनालाई पक्राउ गरिएकोे जिल्ला प्रहरी कार्यालय रुपन्देहीले आइतबार जनाएको छ।
पक्राउ पर्नेमा रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–११ बस्ने अब्दुल हमिद मुसलमान, शुद्धोदन गाउँपालिका–६ का कालु मल्लाह, कञ्चन गाउँपालिका–५ का गगन गुरुङ, सम्मरबहादुर थापा, मानबहादुर भण्डारी, वडा नम्बर ४ का ओमप्रकाश रौतार र कपिलवस्तु वाणगङ्गा नगरपालिका–१० का दीपक चौधरी रहेको प्रहरी नायब उपरीक्षक तथा प्रहरी प्रवक्ता धर्मराज भण्डारीले जानकारी दिए।
मुसलमान र मल्लाहको बयानको आधारमा थप ५ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
प्रवक्ता भण्डारीका अनुसार उनीहरुसहित चोरी भएका ६ वटा मोटरसाइकल बरामद गरिएको छ। उनीहरुले रुपन्देही तथा भारतको सीमावर्ती सहरमा विभिन्न मोटरसाइकल चोरी गरी बेचबिखन गर्ने गरेको खुलेकोे छ।
बरामद मोटरसाइकलसहित पक्राउ परेकामाथि थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।