चितवन- चितवनको इच्छाकामना गाउँपालिका–४, फिस्लिङस्थित पृथ्वी राजमार्गमा आज बिहान ट्रकको पछाडि बस ठक्कर खाँदा बसमा सवार एक जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मृत्यु हुनेमा झापाको मेची–२ बस्ने २३ वर्षीय भानु तिमिल्सिना छन्। उपचारका लागि भरतपुरतर्फ ल्याउँदै गर्दा उनको बाटोमै मृत्यु भएको हो।
गौरबाट भैँसी लिएर काठमाडौँतर्फ जाँदै गरेको ना७ख २५६१ नम्बरको ट्रकलाई काँकडभिट्टाबाट काठमाडौं जाँदै गरेको ना५ख ४८१९ नम्बरको बसले पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको हो। दुर्घटना बिहान ४ः४५ बजे भएको थियो।
दुर्घटनामा परि घाइते भएकाहरुको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ। ट्रक र बस चालक प्रहरीको नियन्त्रणमा रहेका छन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।