चिप्लेढुंगा- विशेषगरी हिन्दु महिलाको चाड हरितालिका तीज नजिकिँदै गर्दा कास्की जिल्ला प्रशासनले तीजमा हुने भड्किलो गतिविधि रोक्न सूचना प्रकाशित गरेको छ।
केही वर्षयता तीजको नाममा महिना दिन अगाडिदेखि हुने भड्किलो गतिविधिले तीजको सांस्कृतिक एवं धार्मिक महत्वलाई गौण बनाउँदै लगेको भन्दै यसको संरक्षणमा जुट्न केही दिनअघि नारी जागरण अभियानले मुख्यमन्त्री, पोखरा महानगरपालिका प्रमुख, जिल्ला प्रशासन कार्यालय लगायतमा ज्ञापनपत्र बुझाएको थियो।
मुख्यमन्त्री, सामाजिक विकासमन्त्री, आन्तरिक मामिलामन्त्री, प्रमुख प्रमुख जिल्ला अधिकारी सबैले तीजको मौलिकतालाई जोगाउन र भड्किलो गतिविधि रोक्न प्रयास गरिने प्रतिबद्धता व्यक्त गरेका थिए।
प्रशासकीय अधिकृत कृष्णप्रसाद पौडेलेद्वारा हस्ताक्षरित सूचनामा तीजको मौलिकता विपरीतका भड्किलो गतिविधि रोक्न आग्रह गरिएको छ। कहीँ कतै सूचनाको बर्खिलाप भएमा कानुनबमोजिम कारबाही हुने व्यहोरासमेत सूचनामा उल्लेख गरिएको छ।
नारी जागरण अभियानकी संयोजक अञ्जु क्षेत्रीले भनिन्, 'हाम्रो उद्देश्य तीजको महिमा र महत्वलाई जोगाएर नयाँ पुस्तालाई हस्तान्तरण गर्नु हो। प्रशासनबाट जारी सूचनाले तीजमा हुने भड्किलो गतिविधि न्यूनीकरण हुनेमा हामी विश्वस्त छौं।'
कोपिला नेपालका निर्देशक एवं महिला अधिकारकर्मी बिना सिलवाल परिवर्तित समयअनुसार चाडपर्व मनाउने तौरतरिका बदलिए पनि यसको मौलिक पक्ष नै गुमाएर महंँगा कपडा, गरगहना प्रदर्शन गर्ने होडबाजीले सामाजिक सद्भाव असर पुगेको बताउँछिन्।
प्रत्येक वर्ष भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म मनाइने हरितालिका तीजमा यो वर्ष भदौ १५ गते दर खाने दिन परेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।