माइतीघर मण्डलामा घन्किरहेको छ, गीत
'रामजाने, रामजाने
हो एकै बचन बोल्दैमा ज्यान जाने!'
हामीसँग ताल मिलेको आवाज छ
हामीसँग मिलेको आवाज छ
हामीसँग आवाज छ
हामीसँग आवाज छ?
हामी गाइरहेछौं एउटै आवाजमा, भजन
'कति सुहायो कति सुहायो
पिस्तोल भिर्या गणतन्त्र कति सुहायो!'
लोकगीतले बजार पिटेको बेला
हामीलाई लोकगीत गाउन बन्देज छ
जस्तो-
सिंहदरबार छायामा बसी
देशद्रोही ढुक्कले सास फेरेको
लोकतन्त्र आइसक्दा पनि
हाम्रा दिन किन नफिरेको?
उनीहरू संख्यामा निकै थोरै छन्
उनीहरू छैनन्- कमिलाको ताँती जति
न छन्- सलह जति
अरिङ्गाल जस्ता उनीहरू
सोझा मौरीको घारमा पसेर आतंक मच्चाइरहेछन्
दन्त्य कथामा जस्तो -
एउटा बूढो, रोगी बाघले हुकुम दिएको छ
ऊ बाँचुन्जेल जंगलमा अर्को राजा बन्नेछैन
तर उसलाई याद छ कि छैन?
घमण्डको इनारमा देखाइदिएर उसकै प्रतिबिम्ब
सकाइदिने छ- खरायोले उसको अस्तित्व!
हामीलाई यतिबेला-
र्यापको तालमा चाहिएको छ, स्वतन्त्रता
तर ऊ,
ठाडो भाकाको तालमा हिँडाउन खोजिरहेछ
ऊ भन्छ-
तिमीहरूले हेर्नुपर्छ त मात्रै- मेरो अनुहार
सुन्नुपर्छ त केवल- मेरो आवाज
गाउनुपर्छ त- मेरो स्तुति
हामी चिच्याउँदै भनिरहेछौं-
हामीलाई चुट्किला सुनेर हाँस्नु छैन
हामीलाई दिउँसै सपना देख्नु छैन
हाँस्नु छ त-
आमाको अनुहारको गरिबी हटाएर हाँस्नु छ
देख्नु छ त-
आमाको मुस्कुराएको अनुहार देख्नु छ
उ हामीलाई अर्ति दिइरहेछ कि-
अब आन्दोलन गरेर केही फाइदा छैन!
ऊ किन यसो भन्दैछ?
उसलाई थाह छ कि-
आन्दोलनले दुईसय चालीस वर्षको तुजुक पनि पल्टाइदिन्छ!
माइतीघर मण्डला गुन्जायमान भएको छ
'रामजाने, रामजाने
हो एकै धर्को लेख्दैमा ज्यान जाने!
000
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।