काठमाडौं– दस वर्षे जनयुद्धका सहिद कमलप्रसाद शर्मा दिनेश र गोविन्द बजगाईं राम्जीको स्मृतिमा जिल्ला सदरमुकाम चौतारामा बहुप्राविधिक शिक्षालय स्थापना हुने भएको छ।
प्रदेश ३ सामाजिक विकास मन्त्रालयको योजना र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् ( सिटिइभिटी) नेपालको समन्वयमा शिक्षालय स्थापना हुने भएको हो।
शिक्षालयको नाम ‘दिनेश राम्जी स्मृति बहुप्राविधिक शिक्षालय’ हुने सामाजिक विकासमन्त्री युवराज दुलालले बताए। सहिदको नाममा महाविद्यालय स्थापना भएपछि कमल शर्मा दिनेशकी जीवन संगिनी पूर्वविधायिका भगवती प्रधान र गोविन्द बजगाईं राम्जीकी पत्नी बिन्दा बजगाईंले सहिदको सम्मान भएको भन्दै खुसी व्यक्त गरे।
१७ करोड भवन बन्दै
९५ रोपनी क्षेत्रफल रहेको आहालडाँडामा शिक्षालयको दुई वटा बिल्डिङ बनाउन सामाजिक विकास मन्त्रालयबाट १७ करोड विनियोजन भएको छ। दुई वर्षभित्र शिक्षालयको आफ्नै भवन हुने छ। शिक्षालयका लागि आवश्यक बाँकी ९ सय रोपनी क्षेत्रफल जग्गा खोजी भइरहेको छ। ‘जनयुद्धका सहिदलाई स्मरण गर्दै प्रदेश ३ ले बहुप्राविधिक शिक्षालय बनाउने निर्णय गरेको हो,’ सामाजिक विकासमन्त्री दुलालले भने, ‘सिन्धुपाल्चोकमा स्थापना भएको शिक्षालयबाट दोलखा, रामेछाप र काभ्रेका विद्यार्थी पनि लाभान्वित हुने लक्ष्य लिइएको छ।’
प्रतिभावान र गरिब परिवारका विद्यार्थीलाई लक्षित गरेर बहुप्राविधिक शिक्षालय स्थापना गरिएको एवं आगामी वर्षदेखि नुवाकोटमा पनि सुरु हुने उनले बताए। दुवै सहिद चौतारा साँगाचोकगढी नगरपालिका– ४ कुबिन्डेका हुन्। शर्मा जनमुक्ति सेनाको बटालियन कमिसार र बजगाईं कमान्डर थिए। २६ वैशाख ०६१ मा बन्दीपुरमा तत्कालीन शाही नेपाली सेनाको ब्यारेक आक्रमणका क्रममा दुवैको मृत्यु भएको थियो। उनीहरूको मृत्युपछि तत्कालीन माओवादीले जनमुक्ति सेनाको तेस्रो डिभिजन अन्तर्गत रहेको दिनेश राम्जी स्मृति ब्रिगेड स्थापना गरेको थियो।
बहुप्राविधिक शिक्षालयमा यही शैक्षिक सत्रदेखि सिभिल इन्जिनियरिङ र सूचना प्रविधि दुई विषयको अध्यापन सुरु हुने भएको छ। ४८/४८ विद्यार्थी भर्ना गरेर दुई विषयमा अध्यापन थालनी गरिने शिक्षालय प्रमुख रामचन्द्र दाहालले बताए। भर्नाका लागि चौतारा बहुमुखी क्याम्पसमा फर्म वितरण गर्ने जिम्मेवारी दिइएको छ। सिटिइभिटीको वेबसाइटबाट पनि फर्म भर्न सकिने व्यवस्था मिलाइएको छ। तत्कालका लागि चौतारा बहुमुखी क्याम्पसको कक्षाकोठा प्रयोग गरेर अध्यापनको थालनी गरिने दाहालले बताए।
प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा शिक्षालय प्रमुख, वडाध्यक्ष र शिक्षाविद् सम्मिलित समितिले शिक्षालयको सम्पूर्ण व्यवस्थापन गर्ने छ। दोस्रो वर्ष बाली विज्ञान, तेस्रो वर्ष पशु विज्ञान, चौथो वर्ष हाइड्रोलोजी विषयको अध्यापन सुरु हुने छ। २०८० सम्म पाँच विषयको अध्यापन व्यवस्थित तवरले गर्ने योजना छ। पूर्व सांसदसमेत रहेका नेकपाका नेता सुभाष कर्माचार्यको नेतृत्वमा बनेको सहजीकरण समितिले एक वर्ष अध्ययन गरेर शिक्षालयका लागि चौतारा साँगाचोकगढी नगरपालिका– ५ छापको आहालडाँडामा जग्गा सिफारिस गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।