काठमाडौं- बर्हिगमित माओवादी लडाकुले आफ्ना माग पूरा गर्न सरकार र सरोकारवाला दललाई ३ महिने ‘अल्टिमेटम’ दिएका छन्।
बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरेर बर्हिगमित माओवादी लडाकुको संस्था ‘बहिर्गमित जनमुक्ति सेना’ले यस्तो अल्टिमेटम दिएको हो।
सरकारले आफूहरूको माग पूरा नगरे अन्तर्राष्ट्रिय फौजदारी अदालतमा जाने चेतावनी उनीहरूको छ।
पत्रकार सम्मेलनमा संस्थाका इन्चार्ज लेनिन बिष्टले माओवादी जनयुद्धको औचित्य पुष्टि गर्न चुनौती दिए। उनले लडाकुको तत्काल विनासर्त रिहा गर्न माग गरे।
आफूहरूको माग जायज भएको दाबी गर्दै ती पूरा नभए अन्तर्राष्ट्रिय फौजदारी अदालतमा उजुरीका लागि जान बाध्य हुने बताए।
उनीहरूले विभिन्न ९ बुँदे माग समेत अघि सारेका छन्।
यस्ता छन् मागहरु:
१.सरकारले तत्काल अयोग्य भन्ने पदावलीको प्रयोग गर्न बन्द गरी बहिर्गमित जनमुक्ति सेनाहरूलाई परिवर्तनका लागि गरेको योगदानको कदर गर्दै गणतन्त्रका योद्धा घोषणा गरोस्।
२.सरकारले बहिर्गमनमा परेका चारहजार नौ जनालाई स्वेच्छिक अवकाश लिएको जनमुक्ति सेना सरह समय सापेक्षित व्यवहार गर्नुको साथै बहिर्गमित जनमुक्ति सेनाले उठाएको मागलाई दिगो रुपमा सम्बोधन गरियोस्।
३.तत्कालीन ने.क.पा. माओवादी र नेपाल सरकारबीच भएको हतियार र सेना व्यवस्थापको अनुगमन सम्झौता २०६३ बमोजिम 'दुवै पक्ष १८ वर्ष वा सो भन्दा मुनिका बालबालिकालाई सैन्य बलमा समावेश वा उपयोग नगर्न पूर्ण रुपमा सहमत छन्। यसरी प्रभावित बालबालिकाहरुको तुरुन्त उद्धार गरिनेछ र तिनीहरूको पुनः स्थापनाको लागि आवश्यक र उपयुक्त सहयोग प्रदान गरिनेछ' भन्ने बुँदालाई तत्काल कार्यान्वयन गरियोस्। (सरकार र सरोकारवाला पक्षले बालसैन्य भर्तिबाट भएको अधिकारको उल्लंघनको जिम्मेवारी लिउन्)
४.बाल अधिकार रक्षाको निश्चितताका लागि राज्य र विद्रोही पक्षलाई जिम्मेवारी ठहर्याउँदै घरेलु तथा अन्तर्राष्ट्रिय सिद्धान्तका आधारमा न्याय स्थापना गरियोस्।
५.बाल सैन्यहरुका लागि, उनीहरुको शिक्षा पाउने विशेष अधिकार खोसिएकाले नेपाल सरकारले उनीहरूको व्यवहारिक चासो सम्बोधन गर्ने गरी सामाजिक न्यायमा आधारित भएर एकमुष्ट सामाजिक तथा आर्थिक कार्यक्रम बनाएर लागू गरोस्।
६.पक्राउ परेका बहिर्गमित जनमुक्ति सेनाहरुको तत्काल बिनासर्त रिहा गरियोस्।
७.घाइते, मानसिक रुपमा बिरामी र आघातमा परेकाहरू तथा अशक्तहरूलाई सरकारले तत्काल औषधि उपचार, मनोवैज्ञानिक परामर्श तथा विशेष सहयोग कार्यक्रम तत्काल ल्याइयोस्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।