राजविराज– सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका पुनः डुबानमा परेको छ। करिब ३५ प्रतिशत घर डुबानमा परेको गाउँपालिकाले जनाएको छ। असार २८ गतेको बाढीमा पनि उक्त गाउँपालिका डुबानमा परेको थियो।
मंगलबारदेखिको वर्षाका कारण बुधबार र बिहीबार खाँडो, महुली, जिता र कोसी नदीको बाढी गाउँमा पसेको अध्यक्ष शतिश सिंहले बताए। बाढीका कारण २ हजार ५ सय परिवार डुबानमा परेको र २५ परिवार विस्थापित भएको उनले जानकारी दिए।
खाँडो खोलाको बाँध वडा नं १, तिलाठीमै तीन ठाउँ भत्किँदा गाउँ जलमग्न भएको छ। तिलाठीका सबै घरमा पानी पसेको सिंहले बताए। ‘वडा नं १ को तिलाठीमा पानी नपसेको एउटा घर पनि छैन,’ उनले भने, 'कोइलाडी र बरसाइन गाउँमा पनि ४० प्रतिशत घर डुबेका छन्।’
असार २८ गतेको बाढीले खाँडो खोलाले दुई ठाउँमा कटान गरेको बाँध नेपाली सेनाले बोराको बाँध बनाएर रोकथाम गरे पनि करिब ३ सय मिटर कटान भएको अर्को ठाउँ पुनः कटानमा परेको गाउँपालिकाले जनाएको छ। ‘हामीले बाँसको पाइलिङ सुरु गरेका थियौं, काम सकिन नपाउँदै बाढीले बगायो,’ सिंहले थपे, ‘एक्स्काभेटर लगेर पनि काम गर्न सक्ने अवस्था रहेन।’
बाढीले गर्दा बाँध मर्मतसम्भार गर्न नसकिएकाले गाउँ डुबानमा परेको उनले सुनाए।

यसैगरी जिता, महुली र कोसी नदीको पानी सिपेज भएर बाढीका कारण वडा नं ४ को कोइलाडी र वडा नं ५ को बर्साइनका बासिन्दाहरु प्रभावित भएका छन्। वडा नं ४ र ५ का २५ परिवार विस्थापित भई कोसी पश्चिमी तटबन्धमा बसेको अध्यक्ष सिंहले जानकारी दिए।
प्रहरी विस्थापित, आधा दर्जन सरकारी कार्यालय डुबानमा
बाढीका कारण तिलाठी १ स्थित गाउँपालिकाको कार्यालय परिसरमा ४ फिटसम्म पानी जमेको छ। कार्यालय र सामान सुरक्षित रहे पनि काम ठप्प भएको सिंहको भनाइ छ। वडा नं १ को कार्यालय पनि डुबानमा परेको छ।
बाढीका कारण तिलाठी प्रहरी चौकी र सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट विस्थापित भएका छन्। विस्थापित प्रहरी छिमेकीको घरमा सरेको छ।
यसैगरी बेल्ही भन्सार कार्यालयका पुराना सबै भवन डुबेकाले एउटा नयाँ भवनमा सामान सारिएको छ। स्वास्थ्य केन्द्रमा पानी जमेकाले उपचार सेवा प्रभावित भएको छ।
खाँडो खोलाको बाढीले तिलाठीस्थित राजविराज–कुनौली सडक खण्डमा सवारीसाधन ठप्प भएको गाउँपालिकाको विपद् जोखिम न्यूनीकरण अधिकृत राजेश झाले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।