काठमाडौं– सामाजिक सञ्जाल 'फेसबुक'ले प्रयोगकर्ताको गोपनीयता भङ्ग गर्नेगरी तथ्यांक बिक्री गरेको आरोपमा हालसम्मकै धेरै जरिवाना तिर्नुपर्ने भएको छ।
फेसबुकले आफ्नो तथ्यांक अनधिकृत रुपमा अन्य संस्थालाई दिएको र त्यसले अमेरिकी राष्ट्रपति निर्वाचन र बेलयात युरोपियन युनियनबाट अलग हुने प्रकृया 'ब्रेक्जिट'मा प्रभावित पार्न प्रयोग भएको आरोपमा जरिवाना तिर्नुपर्ने भएको हो।
अमेरिकाको संघीय व्यापार आयोग (एफटिसी)का अनुसार फेसबुकले ५ अर्ब डलर जरिवाना तिर्नुपर्नेछ। फेसबुकले गोपनीयता हेर्ने एउटा स्वतन्त्र समिति पनि बनाउनु पर्नेछ। उक्त समिति फेसबुकका संस्थापक तथा प्रमुख मार्क जुकरबर्गको नियन्त्रणभन्दा बाहिर हुनुपर्नेछ।
जरिवानाको निर्णयपछि जुकरबर्गले फेसबुकले अब गोपनीयतामा ध्यान दिने संक्षिप्त प्रतिक्रिया दिए।
एफटिसीले राजनीतिक परामर्शदाता कम्पनी क्याम्ब्रिज एनलिटिकाले ७ करोड ८० लाख फेसबुक प्रयोगकर्ताहरूको तथ्यांक प्राप्त गरेको आरोपको जाँच गरेपछि जरिवानाको निर्णय भएको हो। उक्त जाँचमा ‘फेसियल रिकग्निसन’ भनिने अनुहार चिनिने प्रविधिलगायतलाई पनि सामेल गरिएको थियो।
एफटिसीका अध्यक्ष जो सिमोन्सले फेसबुकले हाल गरिरहेको गोपनीयताको उल्लङ्घनलाई कम गर्न र फेसबुकमा पूर्णरूपले गोप्य संस्कृति विकास गर्न ठूलो जरिवाना लगाइएको स्पष्ट पारे।
के थियो फेसबुकको गल्ती?
सन् २०१८ को मार्चमा एफटिसीको उपभोक्ता संरक्षण ब्युरोले फेसबुकमाथि अनुसन्धान थालेको थियो।
उक्त अनुसन्धानपश्चात् व्यक्तिगत तथ्यांकहरू एउटा अनलाइन क्विजमार्फत् जम्मा गरेर क्याम्ब्रिज एनालिटिकालाई बिक्री गरिएको फेला परेको थियो। त्यो तथ्यांक सन् २०१६ मा भएको अमेरिकी राष्ट्रपतीय निर्वाचन र बेलायतको इयूबाट हुने भनिएको बहिर्गमन सम्बन्धमा गरिएको जनमतसङ्ग्रहको नतिजा प्रभावित पार्न प्रयोग गरिएको आशंका गरिएको थियो।
सो क्रममा २ लाख ७० हजार मानिसले मात्र उक्त क्विजमा सहभागिता जनाएको अनुसन्धानबाट खुलेको छ।
अमेरिकीसहित करिब ५ करोड प्रयोगकर्ताहरूको तथ्यांक उनीहरूलाई थाहा नदिइकन उनीहरूका साथीहरूको सञ्जालबाट जम्मा गरिएको आरोप फेसबुकमाथि लाग्दै आएको छ।
फेसबुकको पूर्वाधार प्रयोग गरेर अन्य धेरै कम्पनीहरूले पनि फाइदा लिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।