बर्दिया- बर्दियाको बबई नदीमा बगेका दुई जनाको सकुशल उद्दार गरिएको छ। मंगलबार रातिदेखि परेको अविरल वर्षाका कारण बबई नदीमा आएको बाढीमा दाउरा निकाल्न जाँदा बगाएका दुई जनाको सकुशल उद्दार गरिएको हो।
बबई नदीको बाढीले बगाएका बारबर्दिया नगरपालिका–११, खुन्तीपुरका रामभरोसे थारु र अर्का एक जनालाई उद्दार गरिएको बर्दियाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्गले जानकारी दिए।
नेपाल रेडक्रस सोसाइटी, बर्दियाको उद्धार टोलीले डोरी र लाइफ ज्याकेटको सहायताबाट बगेको स्थानदेखि झन्डै २ किलोमिटर दक्षिण गुलरिया नगरपालिकाको भैँसाहीबाट रामभरोसे थारुलाई र अर्का एक जनालाई बालापुरबाट उद्धार गरिएको हो।
बबई नदीको तल्लो तटीय क्षेत्रमा उच्च सतर्कताका लागि जिल्ला प्रशासन कार्यालय बर्दियाले अनुरोध गरेको छ।
बाढीले बगाउँदा सप्तरीमा २ जना बेपत्ता
सप्तरीमा पनि बुधबार बाढीले बगाएर दुई जना बेपत्ता भएका छन्। सप्तकोशी र खाँडो नदीमा आएको बाढीले बगाएर उनीहरु बेपत्ता भएका हुन्।
सप्तकोशी नदीको बाढीले तिलाठि कोइलाडी गाउँपालिका-४ का बालश्वर मुखियालाई बगाएको स्थानीयले जानकारी दिएका छन्। उनी भैंसी चराउन कोशी नदीको किनारमा गएका बेला बगाएको बताइएको छ।
यसैगरी, बाढीले बगाएर ल्याएको दाउरा संकलनका लागि खाँडो खोलामा पसेका रुपनी गाउँपालिका-१ का ३५ वर्षीय मोहम्मद नासिर मियाँलाई बाढीले बगाएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
दुवैको खोजतलास भइरहेको सप्तरीका डिएसपी भावेश रिमालले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।