काठमाडौं– दोलखा मेलुङ ७ की भावना तिवारी (नाम परिवर्तन) को पारिवारिक अवस्था उति राम्रो थिएन। काम गरेर खान पुग्ने आफ्नो जग्गाजमिन नभएपछि अरुको काम गरेर खानुपर्ने बाध्यताले पिरोलिरहन्थ्यो। श्रीमान्-श्रीमती दुवै ज्याला मजदुरी गरेर जसोतसो जीविकोपार्जन गरिरहेका थिए।
उनीहरुका ३ छोराछोरी भएपछि जिम्मेवारी थपियो। खर्च बढ्यो। सुरुमा त उनले श्रीमान्लाई विदेश जान भनिन्। तर विदेश जाने मन नदेखाएपछि भावना आफै वैदेशिक रोजगारीका लागि मलेसिया पुगिन्।
मलेसियामा काम र कमाइ ठिकै थियो। ‘म सुपरमार्केटमा क्लिनरको काम गर्थें,’ उनले सुनाइन्।
बेलाबेलामा मलेसियाबाट पैसा पठाइरहन्थिन्। फोनमा पनि श्रीमान्सँग राम्रै कुरा भइरहन्थ्यो।
३ वर्षको करार अवधि सकिएपछि भावना घर फर्किइन्।
फर्किंदाका केही दिनसम्म परिवारमा सम्बन्ध राम्रैसँग चलिरहेको थियो। छरछिमेकले बिस्तारै उनका श्रीमान्लाई 'मलेसियामा राम्रो काम नहुँदा र यौन शोषणमा परेपछि महिलाहरु फर्केर आउँछन्' भनेर सुनाउँथे।
त्यही कुराले उनको मन परिवर्तन हुँदै गयो। बिस्तारै उनी भावनाप्रति निर्दयी बन्दै जान थाले। अपशब्द बोल्ने, होच्याउने, गालीगलौज गर्ने, सामान्य कुरामा पनि रिसाउने जस्ता व्यवहार गर्न थालेको भावना सुनाउँछिन्।
‘दिनदिनै जसो रक्सी खाएर घर आउने, तँ मलेसियामा कसरी बसिस् ३ वर्षसम्म? भन्दै थर्काउने गर्न थाल्नुभयो,' उनी भन्छिन्, 'तेरो नियत ठिक छैन भनेर अवहेलना गर्न थालेपछि दिनदिनै घरझगडा बढ्न थाल्यो।’
'विदेश गएर केके गरिस्, अनि बच्चा भएन…' मुटुमा बिझ्ने यस्तैयस्तै वचन लगाउन थालेपछि सञ्चिता एकान्तमा बेस्सरी रुन्थिन्। हेप्ने, होच्याउने, अपशब्द बोल्ने, नराम्रो व्यवहार गर्ने गर्दागर्दै भारत हिँडेका श्रीमान् सम्पर्कमा आएनन्।
मलेसियामा आफूमाथि कुनै पनि त्यस्तो दुर्व्यवहार नभएको बताए पनि श्रीमान्ले पत्याएनन्। दिनदिनै हिंसाको आगोमा पिल्सिनुपरेपछि उनी श्रीमान्लाई छोड्ने निर्णयमा पुगिन्।
छोराछोरीसहित काठमाडौं आएर डेरामा बस्न थालिन्।
अहिले उनका श्रीमान्ले दोस्रो विवाह गरिसकेका छन्।
जब उनी ३ वर्ष मलेसिया बसेर फर्किइन्। त्यसपछि मलेसिया रोजगारी बन्द भइसकेको थियो। अहिले उनी कमाइ नभएपछि छोराछोरीलाई आफन्तकहाँ जिम्मा लगाएर भए पनि पुन: वैदेशिक रोजगारीमा जाने तयारीमा छिन्।
‘काम गरेर खाने खेतबारी छैन, देशमै केही गरौं भन्दा हामीले गर्ने काम नै पाइँदैन,' रसिला आँखा बनाउँदै उनी भन्छिन्, 'जिन्दगीभर साथ दिने श्रीमान्ले नै अलपत्र पारेपछि समाजमा अनेकथरी कुरा काटेको सुन्नुभन्दा बरु परदेशतिर लाग्यो, काम गर्यो।'
OOO
पुनः श्रम स्विकृतिका लागि श्रम कार्यालय ताहाचलमा भेटिइन्, बाँके कोहलपुरकी सञ्चिता खड्का (नाम परिवर्तन)।
उनका लागि यो वैदेशिक रोजगारीको पहिलो यात्रा भने होइन। विवाहभन्दा अगाडि नै उनी युएई पुगेकी थिइन्। त्यहाँबाट फर्किएपछि उनको बिहे भयो।
विवाहपश्चात् उनी घरमै थिइन्। श्रीमान्सँग खेतबारीमै व्यस्त थिइन्। सुरुमा त सम्बन्ध राम्रै थियो। विवाह गरेको २ वर्षसम्म सन्तान नभएपछि उनलाई हेर्ने परिवारको नजर नै फेरियो। श्रीमान्ले पनि साथ दिएनन्। सम्बन्धमा दरार देखापर्न थाल्यो।
आप्रवासी महिला कामदारका सम्बन्धमा प्राडा चन्द्रा भद्राले तयार पारेको प्रतिवेदनमा समेत वैदेशिक रोजगारबाट फर्किएका महिलाह ठूलो संख्यामा घरेलु हिंसाको मारमा पर्ने गरेको उल्लेख छ।
'विदेश गएर केके गरिस्, अनि बच्चा भएन…' मुटुमा बिझ्ने यस्तैयस्तै वचन लगाउन थालेपछि सञ्चिता एकान्तमा बेस्सरी रुन्थिन्। हेप्ने, होच्याउने, अपशब्द बोल्ने गर्दागर्दै भारततिर लागेका श्रीमान् सम्पर्कविहीन भए।
त्यसपछि उनी सम्पर्कममै नआएको सञ्चिता बताउँछिन्।
श्रीमान्ले नै साथ नदिएपछि उनले पुन: वैदेशिक रोजगारीको बाटो रोजिन्।
कुवेतमा उनी गार्मेन्टमा काम गर्छिन्। कमाइ मासिक ४० हजार। काम र कमाइ राम्रै भएकाले उनी कुवेत जाने-आउने गरिरहेकी छन्।
OOO
भावना र सञ्चिता त प्रतिनिधि पात्र मात्रै हुन्, जो वैदेशिक रोजगारबाट फर्किएपछि परिवारबाटै अपहेलित भइरहेका छन्।
महिला कामदारहरु वैदेशिक रोजगारबाट फर्किएपछि पनि घरेलु हिंसाको सिकार हुनुपर्ने अवस्था रहेको आप्रवासी महिला कामदारहरुका सम्बन्धमा गरिएका विभिन्न अध्ययनहरुले देखाएका छन्। विदेशबाट फर्किएका महिलामाथि श्रीमान्ले गालीगलौज, कुटपिट तथा लछारपछार गर्ने, श्रीमान्ले बहुविवाह गर्ने जस्ता समस्या देखिएका छन्। जबरजस्ती सम्बन्ध विच्छेद गर्न लगाउने प्रवृत्ति पनि देखिएको अध्ययन प्रतिवेदनमा उल्लेख छ।
आप्रवासी महिला कामदारका सम्बन्धमा यसभन्दा अगाडि प्राडा चन्द्रा भद्राले तयार पारेको प्रतिवेदनमा समेत वैदेशिक रोजगारबाट फर्किएका महिलाह ठूलो संख्यामा घरेलु हिंसाको मारमा पर्ने गरेको उल्लेख छ।
वैदेशिक रोजगारमा जाने महिला कामदारका सम्बन्धमा काम गर्दै आइरहेको पौरखी नेपालकी महानिर्देशक सत्रमाया गुरुङ भन्छिन्, 'वैदेशिक रोजगारबाट फर्किएपछि पनि थुप्रै महिला घरेलु हिंसाको सिकार हुने गरेका छन्।' त्यस्तो समस्यामा परेका महिलाहरुलाई फर्काइए पनि पुन: घर फर्कन पनि नमान्ने गरेको उनको भनाइ छ।
वैदेशिक रोजगार विभागले लैंगिक रुपमा छुट्याएर वैदेशिक रोजगारमा जाने कामदारको तथ्यांक आर्थिक वर्ष २०६३/६४ देखि उपलब्ध गराउँदै आएको छ। विभागको तथ्यांक अनुसार आव ०६३/६४ मा ४ हजारभन्दा बढी महिला अन्तिम श्रम स्विकृति लिएर विदेशिएका थिए।
०७३ मा सरकारले घरेलु कामदारका रुपमा खाडी जान रोक लगाएपछि श्रम स्विकृति लिएर जानेको संख्या केही घटेको देखिए पनि अवैध बाटो हुँदै जाने महिला बढेको विभिन्न अध्ययनले देखाएका छन्।
यो संख्या बढेर आव ०६७/६८ मा १० हजार १ सय १६ महिला कामदारले अन्तिम श्रम स्विकृति लिएको विभागको तथ्यांकमा उल्लेख छ। ०६८/६९ सम्ममा ५७ हजार महिलाहरु वैदेशिक रोजगारमा गएका छन्।
विभागमा श्रम स्विकृति लिएर विदेशिएका महिलाको संख्या मात्रै उल्लेख छ। अन्य अवैध बाटो हुँदै श्रम स्विकृति नलिई वैदेशिक रोजगारमा जाने र फर्किएकाको तथ्यांक सरकारसँग पनि छैन।
०७३ मा सरकारले घरेलु कामदारका रुपमा खाडी जान रोक लगाएपछि श्रम स्विकृति लिएर वैदेशिक रोजगारमा जाने कामदारको संख्या केही घटेको देखिए पनि अवैध बाटो हुँदै जाने महिला बढेको विभिन्न अध्ययनले देखाएका छन्।
रोजगारको खोजीमा विश्वका १ सयभन्दा बढी मुलुकमा महिला कामदार पुग्ने गरेको वैदेशिक रोजगार बोर्डले जनाएको छ। बहराइन, साइप्रस, कुवेत, ओमान, कतार, युएई, लेबनान, साउदी अरब, जापान, अफगानिस्तान, माल्टा, पोल्यान्ड, जोर्डन लगायत ६० भन्दा बढी देशमाह रोजगारका लागि महिला कामदार जाने गरेका छन्। उनीहरुको रोजाइमा भने युएई, बहराइन, कतार, ओमान, लेवनान, जर्मनी, जोर्डन परेका छन्।
आर्थिक वर्ष ०७४/७५ मा मात्रै युएईमा ६ हजार ५ सय ६४ जना महिला गएका छन्। कतारमा ३ हजार ८ सय, साउदीमा १ हजार २४, मलेसियामा ३ हजार, कुवेतमा झन्डै २ हजार, जोर्डनमा १५ सय, ओमानमा ३ सय र जर्मनीमा २ सयभन्दा बढी महिला वैदेशिक रोजगारका लागि पुगेका छन्। (प्रतीकात्मक तस्बिर)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।