बुटवल- परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली गुल्मीको पहिरो प्रभावित क्षेत्र सत्यवती गाउँपालिकामा पुगेका छन्।
मन्त्री ज्ञवाली, गृह मन्त्रालयका सह–सचिव इन्दु घिमिरे, डाक्टर रेशम ज्ञवाली सहितको टोली राहत लिएर हेलिकोप्टरबाट प्रभावित क्षेत्रमा पुगेको हो।
त्यस्तै प्रदेश नम्बर ५ का सामाजिक विकास मन्त्री सुर्दशन बराल औषधी, टेन्ट र भाडासहितको राहत सामग्री लिएर प्रभावित क्षेत्रतर्फ लागेका छन्।
मन्त्रीहरुले प्रभावित क्षेत्रमा पुगेर स्थलगत अवलोकन गर्नुका साथै प्रभावित परिवारलाई राहत सामग्री वितरण गर्ने कार्यक्रम रहेको छ।
पहिरोमा पुरिएर मृत्यु हुनेप्रति प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवाली, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट, कांग्रेस मुख्य सचेतक बालकृष्ण खाँण, प्रदेश नम्बर ५ का सामाजिक विकास मन्त्री सुर्दशन बराललगायत विभिन्न राजनीतिक दलका नेताले शोक वक्तव्य जारी गर्दै दुःख व्यक्त गरेका छन्।
पहिरोमा पुरिएर मृत्यु हुनेहरुप्रति दुख व्यक्त गर्दै राहत र उद्धारमा जुट्न उनीहरुले आग्रह समेत गरेका छन्।
गुल्मीको सत्यवती गाउँपालिकाको वडा नम्बर ३ मा पहिरोमा पुरिएर २ जनाको र सोही गाउँपालिकाको वडा नम्बर ४ मा ८ जनाको मृत्यु भएको छ। भने अन्य एक जनाको भाग्ने क्रममा मृत्यु भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।