बुटबल- प्रदेश नं ५ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले यातायात व्यवस्था कार्यालयको मंगलबार छड्के अनुगमन गर्दा २१ कर्मचारी अनुपस्थित रहेको पाइएको छ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट खटिएका छुट्टाछुट्टै टोलीले यातायात व्यवस्था कार्यालय सवारी शाखा मणिग्राम र लाइसेन्स शाखा बुटवलमा छड्के अनुगमन गरिएको थियो।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव एवं प्रवक्ता वसन्त अधिकारीले ३२ जना दरबन्दी रहेको यातायात व्यवस्था कार्यालय मणिग्राममा कार्यालय प्रमुख मुक्ति पाण्डेसहित १० कर्मचारी अनुपस्थित रहेको र २९ जना दरबन्दी रहेको लाइसेन्स शाखा बुटवलमा ११ कर्मचारी अनुपस्थित रहेको जानकारी दिए।
अनुगमनका क्रममा कार्यालयका कर्मचारीले परिचयपत्र र पोशाक नलगाएको र समयमा कार्यालयमा उपस्थित नभएको पाएकाले स्पष्टीकरण सोधिने र स्पष्टीकरण प्राप्त भएपछि कर्मचारी नियमावलीअनुसार अरु प्रक्रिया अघि बढाइने प्रवक्ता अधिकारीले जानकारी दिए। -रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।