दमौली- जिल्ला प्रशासन कार्यालय तनहुँले विचौलियालाई कार्यालयमा प्रवेश गर्न रोक लगाएको छ। आर्थिक प्रलोभनका कारण सेवाग्राहीलाई अनेक बहानामा दुःख दिने प्रवृत्ति बढ्दै गएकाले विचौलियालाई कार्यालयमा प्रवेश गर्न रोक लगाएको हो।
सेवाग्राहीले निर्वाधरूपमा सेवा लिन पाउने वातावरण सिर्जना गर्दै कार्यालयमा विचौलियाको प्रवेशमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिए। उनका अनुसार कार्यालयले स्वच्छ खानेपानी, निःशुल्क इन्टरनेट, स्तानपानकक्ष, विश्रामस्थल, सेवाग्राहीलाई पङ्खाको व्यवस्था गरेको छ।
'सेवाग्राहीलाई आवश्यक पर्ने निवेदन फाराम कार्यालयबाट निःशुल्क उपलब्ध, सेवाग्राहीको साथमा आउने स–साना बालबच्चालाई सुताउने झोलुङ्गो, महिला पुरुषका लागि छुट्टै शौचालय र अपाङ्गमैत्री कार्यालय बनाइएको छ,' उनले भने।
१५ हजार ७ सय नागरिकता वितरण
पण्डितका अनुसार कार्यालयले आर्थिक वर्ष २०७५/७६ मा १५ हजार ७ सय ४ नेपाली नागरिकता वितरण गरेको छ। वंशजको आधारमा १० हजार पाँच, प्रतिलिपि पाँच हजार ६ सय ७९ र वैवाहिक अङ्गीकृतअन्तर्गत २० नागरिकता वितरण गरिएको प्रमुख जिल्ला अधिकारी पण्डितले जानकारी दिए।
उनका अनुसार ३ सय ८४ नाबालक परिचयपत्र, ४ नागरिकता परित्याग र एक नागरिकता रद्द गरिएको छ। पेन्सन सिफारिस ३ हजार १ सय १९, आदिवासी जनजाति प्रमाणित १ हजार २ सय ४७, अन्य सिफारिस १ हजार १ सय ४, दलित प्रमाणित ४ सय ७१, नयाँ संस्था दर्ता १ सय ४९, नवीकरण संस्था ७ सय २७ र संस्था नवीकरण १ सय ६२ को संख्यामा गरिएको छ।
राहदानी दस्तुरबाट ३ करोड २२ लाख ५७ हजार, न्यायिक दण्डजरिवाना २५ लाख ४२ हजार २ सय ७१, संस्था दर्ता तथा नवीकरणबाट ११ लाख ३४ हजार २ सय ८०, परीक्षा दस्तुर १ लाख ३९ हजार ६, हातहतियार नवीकरण ८५ हजार ३ सय ५५ र प्रशासनिक दण्ड जरिवाना ५ हजार गरी ३ करोड ६१ लाख ६३ हजार ५ सय ६ रुपैयाँ राजश्व सङ्कलन भएको सूचना अधिकारी एवं सहायक प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडैलले बताए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।