काठमाडौं- सोमबारदेखि देशका विभिन्न स्थानमा वर्षापछिको बाढी तथा पहिरोका कारण विभिन्न सडक खण्डहरु अवरुद्ध भएका छन्।
मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुन न्यून चापीय रेखा नेपालको दक्षिणतिर रहेको र बंगालको खाडीबाट प्रवेश गरेको जलवाष्फयुक्त हावा र स्थानीय वायुको प्रभावको कारण नेपलाका पूर्व तथा मध्यका अधिकांश तथा पश्चिमका केही स्थानहरुमा सोमबारदेखि वर्षा सुरु भएको छ।
वर्षापछिको बाढी तथा पहिरोका कारण विशेषगरी पूर्वी क्षेत्रका राजमार्ग तथा सडक खण्डहरु अवरुद्ध भएका हुन्। सिद्धिचरण राजमार्ग, सिद्धार्थ राजमार्ग, मेची राजमार्ग, कान्ती लोकपथ, बेसिशहर-मनाङ सडक खण्ड तथा बेनी-जोमसोम सडकखण्डमा बिहानैदेखि सडक आवागमन ठप्प भएको गृह मन्त्रालयअन्तर्गतको विपद् व्यवस्थापन शाखाले जनाएको छ।
हाल रूपन्देही, कपिलवस्तु, पाल्पा, गुल्मी, नवलपरासी पूर्व, तनहुँ, गोरखा, धादिङ, लमजुङ, चितवन, पर्सा, बारा, मकवानपुर, रौतहट, सिन्धुली र आसपासका क्षेत्रमा मध्यम देखि भारी वर्षा भइरहेको शाखाले जनाएको छ। शाखाले थप वर्षा हुनसक्ने भएकोले उक्त जिल्लाका स-साना नदी तथा तटीय क्षेत्रमा बाढीको खतरा रहेकोले सतर्कता अपनाउन अनुरोध गरेको छ। (फाइल तस्बिर)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।