बजेट फ्रिज भएपछि अमरगढी किल्लामा तालाबन्दी

ललित बोहरा | २०७६ श्रावण ६ सोमबार | Monday, July 22, 2019 १९:०५:०० मा प्रकाशित

डडेल्धुरा- सदरमुकाममा रहेको अमरगढी किल्लामा तालाबन्दी गरिएको छ। अमरगढी नगरपालिका–५ मा रहेको ऐतिहासिक पर्यटकीय स्थल अमरगढी किल्लामा किल्ला पर्यटन पूर्वाधार क्षेत्र विकास समितिले तालाबन्दी गरेको हो। 

ढिलासुस्तीका कारण किल्लाका लागि आएको बजेट फ्रिज भएपछि ताला लगाएको अमरगढी किल्ला पर्यटन पूर्वाधार क्षेत्र विकास समितिका अध्यक्ष प्रवीण जैरुले बताए। 

अमरगढी किल्लाको पुनर्निमाणका लागि असारदेखि काम सुरु गरेको भए पनि नगरपालिकाले कामको मूल्याकंन नगरी पेस्की स्वरुप दुई लाख रुपैयाँ मात्रै दिएर बाँकी रकम फ्रिज हाल्ने काम गरेकाले किल्लामा तालाबन्दी गर्न बाध्य भएको उनको भनाइ छ।

‘पुनर्निमाणका लागि पुरात्तत्व विभागबाट गत पुसमा पैसा आएको थियो। आएको पैसा किल्लामा लगाउनुपर्छ भनेर कार्यपालिकाबाट कुनै निर्णय गरिएन। हामीले काम गर्नुपर्छ भनेर ‘व्याकडेट’ राखेर जेठ ३० गते सम्झौता गर्यौं,’ अध्यक्ष जैरुले भने, ‘त्यसपछि असारबाट हामीले काम सुुरु गर्यांै। नगरपालिकाले कामको मूल्याकंन नगरी पेस्की स्वरुप दुई लाख रुपैयाँ मात्रै दिएर बाँकी रकम फ्रिज हाल्ने काम गरेकाले किल्लामा ताला लगाएका हौं।’

उनका अनुसार पुनर्निमाणका लागि पुरातत्व विभागबाट अमरगढी किल्लाका लागि २५ लाख रुपैयाँ आएको थियो।

‘अमरगढीको कार्यपालिको समितिले किल्लामा आएको पुनर्निमाणको सही मूल्याकंन गरेरे पैसा दिनुपर्छ। त्यसपछि मात्रै किल्लामा लगाएको ताला खोल्छौं,’ उनले भने, ‘त्यहाँका टिकट वापत उठेको राजस्व नगरपालिकाको खातामा जान्छ। राजस्व उठाएवापत अमरगढी किल्लामा गर्नुपर्ने काम सरकारले गरेको छैन।’

नगरपालिकाले भने किल्लामा आएको बजेट फ्रिज जानुमा नगरपालिका दोषी नभएको जनाएको छ। पुरातत्व विभागले काम चाँडै गर्न अनुमति नदिनु लगायतका कारणले समस्या भएको नगरप्रमुख विश्वेश्वरप्रसाद ओझाले जानकारी दिए।

‘पुरातत्व विभागले काम गर्नको लागि समयमै अनुमति नदिनु, कार्यपालिकामा त्यसका बारेमा विवाद भइराख्नुले ढिलो भएको हो,’ नगरप्रमुख ओझाले भने। 

गतवर्ष सरकारले छनोट गरेका एक सय नयाँ पर्यटकीय गन्तव्यमा ‘अमरगढी किल्ला’ पनि परेको थियो। 

ऐतिहासिक अमरगढी किल्लामा तालाबन्दी भएपछि किल्ला घुम्न आउने पर्यटकहरू समस्यामा परेका छन्। पछिल्लो समय यहाँ छिमेकी जिल्ला बैतडी, दार्चुला, डोटी, बझाङका साथै कैलाली, कञ्चनपुरबाट समेत घुम्नका लागि पर्यटकहरू आउँथे।