डडेल्धुरा– जिल्लामा मजदुरी गर्ने महिलाको संख्या पछिल्लो समय बढ्दै छ। गाउँका अधिकांश पुरुष कामको खोजीमा भारत तथा खाडी मुलुकमा जाने भएकाले मजदुरीमा महिलाहरू नै अग्रसर हुन थालेका हुन्।
भारत तथा अन्य मुलुकमा काम गर्ने पुरुषले वर्षमा एक पटक मात्र घरखर्च दिने गरेकाले बाध्य भई मजदुर गर्नु परेको यहाँका महिलाहरू बताउँछन्।
आफूहरूले पुरुष जतिकै काम गरेपनि ज्याला रकममा भने विभेद गरेको महिलाहरूको गुनासो छ।
रोजगारदाता कम्पनीहरूले महिलालाई दोस्रो प्राथमिकतामा राख्दै आएका छन्।
‘हामी पनि पुरुष जत्तिकै दैनिक आठ घन्टा काम गर्छाैँ, तर पारिश्रमिक पाउँदा पुरुषको तुलनामा कम पाउँदै आएका छौं,’ स्थानीय भागाकुमारी श्रेष्ठले दुखेसो पोखिन्।
बढ्दो सहरीकरण र श्रमबजारमा पुरुषसँगै महिलाहरूको संख्या बढिरहेको अवस्थामा ज्यालामा विभेद गर्न नहुने श्रमिक महिलाहरूको भनाइ छ।
मिस्त्रीभन्दा मजदुरको पारिश्रमिक कम हुने र आफूहरुलाई पनि उनीहरू बाराबरकै पारिश्रमिक हुनुपर्ने स्थानीय गीतादेवि कामीले माग गरिन्।
‘मजदुरी गरेर साँझ बिहान खानाको जोहो गर्नुपर्ने हुन्छ। यसबाटै परिवारको खर्च र छोराछोरीको पढाइ खर्च धान्नुपर्ने हुछ। तर, पुरुषको तुलनामा कम पैसा पाउँदा दुःख लाग्छ,’ उनले भनिन्।
लैंगिक समानताका लागि नियमहरू बनेका भए पनि तिनको कार्यान्वयन प्रभावकारी नभएको विज्ञहरू बताउँछन्।
महिला सशक्तीकरणबारे जति चर्चा भएपनि यथार्थमा भने महिलाका लागि खासै धेरै परिवर्तन नभएको महिलाहरूको गुनासो छ। महिलाहरू शारीरिक रूपमा कमजोर हुने र त्यसैले कम ज्याला दिइने तर्क गलत रहेको उनीहरू बताउँछन्।
ज्याला विभेदमा पनि पहिलेको तुलनामा अहिले धेरै परिर्वतन भइसकेको अवस्था छ। पहिलेदेखि नै चलेको चलन भएको भन्दै महिला मजदुरलाई पुरुषको तुलनामा कम पारिश्रमिक दिँदै आएको ठेकेदारहरू स्वीकार गर्दछन्।
ज्यालामा समानता, महिला भेदभाव न्यूनीकरण, आवश्यक कानुन निर्माणमा सरकारले काम गरिरहेको श्रम मन्त्रालयले जनाएको छ। श्रमिकहरूकै मञ्जुरीमा भने ज्यालामा फरक रहेको पाइएको छ।
यद्यपि त्यस्तो फरक भएको पाइएमा मन्त्रालयले उजुरीको आधारमा न्याय दिलाउन तयार रहेको श्रम तथा रोजगार मन्त्रालयका जनाएको छ।
ज्यालामा हुने भेद हटाउन सरकारको श्रम प्रशासन प्रभावकारी हुन आवश्यक रहेको श्रमिक अधिकारकर्र्मी बताउँछन्।
प्रधामन्त्री रोजगारमा समान ज्याला
प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत युवाहरूलाई दैनिक ज्यालादारीको रोजगारी दिएको छ । बेरोजगार भई फाराम भरेका युवालाई अहिले विभिन्न वडाले अल्पकालीन योजनाका काममा रोजगारी प्रदान गरेका हो ।
बेरोजगार युवालाई एक महिनाका लागि दैनिक ज्यालादारीमा सडक मर्मत, नाली सरसफाइ, ग्रामीण खानेपानीको कार्य, स्वास्थ्य, कृषि, वन वातावरण, पर्यटनको क्षेत्रमा श्रममा रोजगारको अवसर प्रदान गरिएको छ। जसमा काम गर्ने पनि अधिकाश महिला नै रहेका छन्। यसमा भने ज्याला समान रहेको बताइएको छ।
दीर्घकालीन योजना नभएकाले सडक मर्मत, बाटो सरसफाइ र कुलो बनाउने कार्यमा युवालाई रोजगारीको अवसर दिइएको जनाइएको छ ।
छोटो समयमा रोजगारका लागि काम पूरा गर्नुपर्ने भएकाले दीर्घकालीनभन्दा अल्पकालीन योजनामा रोजगार दिइएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।