काठमाडौं- युरोपेली मुलुक माल्टामा आकर्षक रोजगारीको प्रलोभन देखाई भारतीय नागरिकले नेपाली युवाहरुलाई ठगी गरेको खुलेको छ।
भारतको गौतम बुद्धनगर उत्तर प्रदेश दिल्ली घर भई हाल काठमाडौं सिनामंगल बस्ने राहुल पाण्डेले माल्टामा रोजगारीको प्रलोभन देखाई ठगी गरेको खुलेको हो। निज राहुलले भिभी इन्टरनेसनल प्रालिको नाम लिई नेपाली युवाहरुलाई माल्टा पठाउने बताउने गरेका थिए।
युवाहरुबाट लाखौं रकम असुल्दै रोजगारीमा नपठाएपछि पीडित युवाहरु भिभी इन्टरनेसनलमा पुगेका थिए। भिभी इन्टरनेसनलमा युवाहरु पुगेपछि राहुलले दिलाएको भिसा नक्कली भएको खुलेको थियो।
राहुलले विभिन्न चरणमा गरी कामदारहरुको भिषा प्रकृयालगायत कामका लागि भन्दै ६५ लाख ७० हजार ६ सय रूपैयाँ ठगी गरेको पीडितहरुले दाबी गरेका छन्।
आफ्नो म्यानपावरको नाम लिई भारतीय नागरिक राहुलले ठगी गरेको थाहा पाएर कानुनी कारबाही गरी पाऊँ भन्दै भिभी इन्टरनेसनलका सञ्चालक दावा शेर्पाले अपराध अनुसन्धान महाशाखामा उजुरी दिएका थिए।
महाशाखाले निज राहुलको खोजतलास गर्ने क्रममा शुक्रबार साँझ उनलाई टेकुबाट पक्राउ गरेको छ।
पक्राउ प्रतिवादी राहुललाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौंमा लगिएको महाशाखाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।