काठमाडौं- साउन महिनाको पहिलो सोमबार आज हिन्दू धर्माबलम्बीहरुले भगवान शिवको पूजा आराधना गरी मनाउँदैछन्। साउनको सोमबार शिवको पूजाआराधना गर्दा मनोकांक्षा पूरा हुने विश्वासका साथ हिन्दू धर्माबलम्बी विशेषगरी महिलाहरुले नजिकका नदी तथा तलाउमा गई स्नान गर्ने र शिव मन्दिरमा गई पूजाआजा गर्ने चलन छ।
साउन महिनाको सोमबार शिवको प्रिय दिन मानिन्छ। यस दिन नदी तथा तलाउमा गई स्नान गर्ने र शिवलिंग तथा शिव मन्दिरमा जल तथा बेलपत्र चढाउने गरिन्छ। महिलाहरुले हरियो रङका वस्त्र, चुरा र मेहन्दी लगाएर भगवान शिवको पूजा तथा आराधना गरी व्रत बस्ने गर्छन्।
सोमबारदेखि नै देशका विभिन्न स्थानमा बोलबम यात्रासमेत सुरु भएको छ। काठमाडौंको पशुपतिनाथ मन्दिर, चितवनको देवघाटधाम तथा अन्य शिव मन्दिरहरुमा बोलबम मेला भर्नका लागि नेपाल तथा छिमेकी भारतका विभिन्न स्थानका धर्मावलम्बीहरुको घुइँचो लागेको छ।
बोलबम मेलालाई मध्यनजर गर्दै पशुपति क्षेत्र विकास कोष तथा देवघाटको क्षेत्र विकास समितिले सबै तयारी पूरा भएको जनाएको छ। विशेषगरी भक्तजनको चापलाई मध्यनजर गर्दै लाइनमा बसेर पशुपतिनाथ मन्दिरमा दर्शन तथा पूजाआराधाना गर्ने व्यवस्था मिलाइएको छ।
उता देवघाट प्रवेश गर्ने दुवै क्षेत्र आँपटारी र रामनगरमा आवतजावतका लागि सडक यातायात सहज बनाइएको छ। देवघाको वेणीमा पुग्न पुलको प्रयोग गर्दा लाइनमा बसेर सोतर्फ जाने व्यवस्था मिलाइएको छ।त्रिशुलीमा पानीको बहाव तेज भएकोले यो समय डुंगाको प्रयोग सहज मानिँदैन। त्यसकारण पनि देवघाटको वेणी क्षेत्र पुग्न झोलुंगे पुलमा पुग्न एक पटकमा सीमित व्यक्तिलाई मात्रै आवातजावत गर्ने व्यवस्था मिलाइएको छ।
यस पटक साउन महिनामा ४ वटा सोमबार परेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।