काठमाडौं- आप्रवासी कामदारहरूको मानवअधिकार संरक्षण सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ।
३ दिनसम्म चल्ने सम्मेलन राष्ट्रिय मानवअधिकार आयोगले आयोजना गर्न लागेको हो। आयोगले आइतबार पत्रकार सम्मेलन गरी सम्मेलनबारे जानकारी दिएको हो।
सम्मेलन आगामी कार्तिक २६ गतेदेखि २८ गतेसम्म काठमाडौंमा आयोजना गरिने छ।
सम्मेलनका आयोजना समितिका संयोजक सुदीप पाठकका अनुसार ३० देशका २४ राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष, सदस्य अन्तर्राष्ट्रिय विज्ञहरू र सरकारका प्रतिनिधि लगायत ९० जना प्रतिनिधिको सहभागित उक्त सम्मेलनमा रहनेछ।
सम्मेलनमा नेपालका तर्फबाट नेपाल सरकारका प्रतिनिधि, आप्रवासी कामदार क्षेत्रमा कार्यरत संघ-संस्थाका प्रतिनिधि र आयोगका पदाधिकारी गरि करिब ३५ जनाको सहभागिता रहनेछ।
सम्मेलनमा विभिन्न कार्यपत्र प्रस्तु गरिने र त्यसमाथि छलफल हुनेछ।
पत्रकार सम्मेलनमा आयोगका अध्यक्ष अनुपराज शर्माले सम्मेलन नेपालका लागि प्रतिष्ठाको विषय भएको बताए। ‘यो राष्ट्रिय गौरवको विषय हो,’ उनले भने, ‘यसले नेपालाई चर्चामा ल्याउँछ।’
आयोगले यसअघि सन् २०१२ मा समेत यस्तै सम्मेलन गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।