काठमाडौं– चार करोड मूल्य बराबरको लागुऔषध आइस ड्रग्ससहित पक्राउ परेका पोर्चुगिज नागरिकलाई सार्वजनिक गरिएको छ।
शुक्रबार दिउँसो साढे १ बजे लागुऔषध नियन्त्रण ब्युरोको शाखा कार्यालय त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट खटिएको टोलीले पोर्चुगिज नागरिक थिएगो मेन्डस पेरेरालाई पक्राउ गरेको थियो। उनी एयर इन्डियाको उडान नम्बर एआई २१६ बाट भारतको दिल्ली हुँदै जापान जान लागेका थिए।
पासपोर्ट नम्बर सिए ७०१२९२ भएका २५ वर्षीय पेरेराको झोला शंका लागि जाँच गर्ने क्रममा एक्सरे मेसिनले उनको झोलामा लागुऔषध रहेको संकेत गरेको थियो। कालो, खैरो र निलो रङको पछाडि भिरेर बोक्ने कपडाको झोला भित्र सानोसानो प्याकेट जस्तो वस्तु बनाएर उनले आइस ड्रग्स बोकेका थिए।
२७ वटा कागजका बक्सहरुमा माथि रुमाल, टाई र त्यसमुनि फल्स बटम बनाई ४ लुकाएको अवस्थामा ४ किलो २ सय ग्राम आइस ड्रग्स फेला परेको हो। बरामद आइस ड्रग्सको मूल्य ४ करोड रहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।