खोटाङ- लोकसेवा आयोगको परीक्षा बिथोल्न खोजेको भन्दै प्रहरीले खोटाङमा आज बिहान चार जनालाई पक्राउ गरेको छ।
दिक्तेलमा बिहान भएको आयोगको पाँचौं तहको परीक्षा सञ्चालन भइरहेको केन्द्रमा पुगेर बिथोल्न खोजेको भन्दै प्रहरीले नेपाल आदिवासी जनजाति महासंघ खोटाङका सचिव रवीन खम्बु, सहसचिव एलबी मगर, खोटाङ दलित विकास मञ्चका अध्यक्ष मिलन चाहार र सविना अछामेलाई पक्राउ गरेको हो।
दिक्तेल बहुमुखी क्याम्पसमा भइरहेको आयोगको परीक्षा बिथोल्ने प्रयास गरेकाले तीन पुरुष र एक महिलालाई पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी विष्णुहरि उपाध्यायले बताए। 'परीक्षा केन्द्रमा प्रवेश गरेर होहल्ला गर्ने, प्रश्नपत्र र उत्तरपुस्तिका खोस्ने काम उनीहरुले गरेका छन्,' उनले भने, 'उनीहरुको नियत हेर्दा जसरी पनि परीक्षा बिथोल्न खोजेकाले पक्राउ गरिएको हो।'
संविधानमा व्यवस्था भएको समावेशी र समानुपातिक व्यवस्थाविपरीत लोकसेवा आयोगले विज्ञापन खुलाएको विरोधमा आज आह्वान गरिएको १ नम्बर प्रदेश बन्द अन्तर्गत परीक्षा केन्द्रमा पुगेका चार जनालाई प्रहरीले धरपकड गरेको नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष हात्तीराम राईले आरोप लगाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।