काठमाडौं- काठमाडौं विश्वविद्यालयको स्कुल अफ एजुकेसनले प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिम (सिटिइभिटी) लक्षित मास्टर्स डिग्री कार्यक्रम ल्याएको छ। यो कार्यक्रम दक्षिण एसियामै पहिलो पल्ट काठमाडौं विश्वविद्यालयले सुरु गरेको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीले सपथ लिएलगत्तै देशमा प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिमको विकास गर्न प्रत्येक स्थानीय तहमा एक प्राविधिक शिक्षालयको विकास गर्ने लक्ष्य रहेको सरकारले घोषणा गरेको थियो।
देशका ७० प्रतिशत युवायुवतीले प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिम प्राप्त गर्न सके समाज रुपान्तरणका लागि सघाउ पुग्ने सकारको विश्वास छ। सरकारले नेपालका सबै ७५३ स्थानीय तहमा प्राविधिक शिक्षालयहरू खोल्ने महत्वाकांक्षी योजना राखेको छ। देशभर सिटिइभिटीका झन्डै ६ सय आंगिक तथा सम्बन्धनप्राप्त शैक्षिक संस्थाहरु छन्।
सोही सन्दर्भलाई मध्यनजर गर्दै केयूले प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिमको नेतृत्व र अनुसन्धान विकासका लागि आवश्यक जनशक्ति तयार गर्न यो कार्यक्रम सुरु गरेको हो।
'सरकारले एक गाउँ एक प्राविधिक शिक्षालयको अवधारणा ल्याउनासाथ यो कार्यक्रम प्राथमिकताका साथ अघि बढाएका हौं,' स्कुल अफ एजुकेसनका डिन तथा प्राध्यापक डाक्टर महेशनाथ पराजुलीले भने, 'तर यो कार्यक्रमको पूर्व तयारी पहिलेबाट भएको थियो।'
पराजुलीले सरकारले प्राथमिकताका साथ प्राविधिक तथा व्यावसायिक शिक्षा तथातालिमलाई अघि बढाएपछि विश्वविद्यालयले पनि आफ्नो दायित्वका रुपमा यो कार्यक्रम सुरु गरेको बताए.
नेपालको प्राविधिक शिक्षा तथा तालिमका लागि आवश्यक नेतृत्वदायी क्षमता भएका जनशक्ति तयार गर्न केयुको यो कार्यक्रम कोशेढुंगा साबित हुने प्राडा टंकनाथ शर्मा बताउँछन्। 'नयाँ शैक्षिक कार्यक्रम भएकाले यो विषय अध्ययन गर्नेहरुले छिट्टै रोजगारीको अवसर पाउने अवस्था रहेको छ,' उनले भने।
प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिमको विज्ञ डाक्टर उषा भण्डारी प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिममा स्नातकोत्तर तहको कार्यक्रमले यस क्षेत्रको लागि आवश्यक योजनाकार, व्यवस्थापक तथा अन्य विशेषज्ञ तयार गर्ने बताइन्। 'पढ्ने मात्र नभई गरीखान सिकाउने शिक्षाको विषयलाई सम्बोधन गर्न छुट्टै शैक्षिक कार्यक्रम आवश्यक थियो, जुन केयुले ल्याएको छ,' उनले भनिन्।
यस शैक्षिक कार्यक्रममा केयुले निश्चित संख्यामा छात्रावृत्ति समेत प्रदान गर्ने जनाइएको छ। हाल भर्ना प्रक्रिया जारी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।