काठमाडौं- पूर्व सञ्चारमन्त्री मोहन बहादुर बस्नेतले मिडिया काउन्सिल विधेयक स्वतन्त्र प्रेसको अंकुश लगाउने गरी ल्याउन लागिएको बताएका छन्।
उनले वर्तमान सरकारले ल्याएको मिडिया काउन्सिल विधेयक विरुद्धमा आवाज उठाएपछि आफ्नो विरुद्धमा सत्तासिन दल नेकपा लागेको आरोप लगाए।
बस्नेतको नाममा प्रणामी वचत तथा सहकारीमा स्रोत नखुलेको समाचार प्रकाशित भएपछि खण्डनका लागि उनले पत्रकार सम्मेलन गरेका थिए।
सहकारीमा ६१ करोड रुपैयाँ आफ्नो नाममा नभएको प्रष्टिकरण दिए। पत्रकार सम्मेलनमा उनले भने, ‘प्रणामी बचत तथा सहकारीको नाम बिहीबार मात्रै सुनेको हुँ। मेरो एकाघरमा रहेका कुनै सदस्यको नाममा त्यो सहकारीमा खाता छैन।’
राजनीतिक र सामाजिक हिसावले बदनाम गराउने नियतले समाचार प्रकाशित भएको बताए। उनले भने,‘तथ्यहिन र कपोकल्पित समाचार बाहिर ल्याउनु सत्तासिन नेपाल कम्युनिस्ट पार्टीका व्यक्तिहरुको संलग्नता देखिन्छ।’
महाबौद्धमा रहेको प्रणामी बचत तथा सहकारी संस्थामा पूर्वमन्त्री बस्नेतको स्रोत नखुलेको ६१ करोड रुपैयाँ भेटिएको बिहीबार समाचार बाहिर आएको थियो। ठूलो मात्रामा निक्षेप देखिएपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान सुरु गरेको समाचार प्रकाशित थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।