बाजुरा- बाजुराको फिलुचौरबाट कालिकोटको जितेगडा जाँदै गरेको जिप दुर्घटना हुँदा चालकसहित २ जनाको घटनास्थलमै मृत्यु भएको छ। ११ जना घाइते छन्।
क १ ज २१ नम्बरको जिप बाजुराको जगन्नाथ गाउँपालिका–५ स्थित जुवाखोलामा शुक्रबार बिहान ८ः३० बजे दुर्घटना भएको हो।
दुर्घटनामा टीकापुर नगरपालिका–४ का २६ वर्षीय रमेश बोगटी र खत्याड गाउँपालिका–६, मुगुका २४ वर्षीय रामबहादुर शाहीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका डिएसपी उद्धवसिंह भाटले जानकारी दिए।
बोगटी जिपका चालक हुन्।
जिपमा चालकसहित १५ जना सवार थिए। यीमध्ये ४ जनाको अवस्था गम्भीर छ।
डिएसपी सिंहका अनुसार, गम्भीर घाइतेलाई उपचारका लागि नेपालगन्ज लैजान हेलिकोप्टर मगाइएको छ। अन्य घाइतेको भने कोल्टी स्वास्थ्य केन्द्रमा नै उपचार भइरहेको छ।
जिप सडकबाट तल खसेको छ। कमजोर सडक संरचनाका कारण दुर्घटना भएको प्रारम्भिक अनुमान भए पनि खुलिनसकेको डिएसपी सिंहले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।