काठमाडौं– हरेक वर्षाको समयमा गोकर्णेश्वर नगरपालिका, माकलबारीको बस्ती डुवान हुँदै आएको छ। यो वर्ष पनि सो क्रम रोकिएन।
लगातारको वर्षापछि माकलबारीको क्षेत्र डुबानमा परेपछि नगरपालिकाले नेपाल ट्रष्टको कार्यालयलाई पत्र लेखेको छ। ट्रष्टको नाममा रहेको गोकर्ण रिसोर्ट भित्रको जङ्गलमा नाला व्यवस्थित नहुँदा बस्ती डुवान परेको भन्दै नगरपालिकाले साउन २ गते नेपाल ट्रष्टलाई पत्र लेखेको हो।
वडा नम्वर ४ मा रहेको उक्त बस्तीमा हरेक वर्ष यो समस्या हुने र नेपाल ट्रष्टको कार्यालयलाई ध्यानाकर्षण गराउने गरिएको तर यसमा उचित सुनुवाइ नभएको वडा सदस्य जयराम महतले बताए।
‘बस्तीभित्र सरकारी जग्गाबाट नाला आउन दिने कार्य रोक्न हामीले स्थानीय जनतासहित भएर नेपाल ट्रष्टलाई विभिन्न समयमा ध्यानाकर्षण गराउँदै आएको छौं,’ महतले भने, ‘तर यसमा पहल हुन नसक्दा फेरि घरहरु डुबानमा परेपछि नगरपालिकाबाट पत्र लेखिएको हो।’ नेपाल ट्रष्टको जग्गाभित्र निर्माण भएको नाला सानो भएको र पानी धेरै जम्मा हुँदा बस्तीभित्र पस्ने गरेको महतले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।