कैलाली– सुदूरपश्चिम प्रदेशका २ र प्रदेश ५ का ३ जिल्ला गरी ५ जिल्लामा ६ सयभन्दा बढी मुक्त कमैया परिवारलाई पुनर्स्थापना गर्न बाँकी रहेको एक अध्ययनले देखाएको छ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले आर्थिक वर्ष २०७५/०७६ मा सबै मुक्त कमैया र हलियाको पुनर्स्थापना गरिसक्ने लक्ष्य लिए पनि अझै काम बाँकी रहेको मन्त्रालयकै अध्ययनको तथ्यांकले देखाएको हो।
कैलालीमा ३ सय ८०, बाँकेमा १ सय ५०, दाङ र बर्दियामा ५०/५० र कञ्चनपुरमा १७ परिवार मुक्त कमैयालाई पुनर्स्थापना गर्न बाकी रहेको जनाइएको छ।
भूमि सुधार कार्यालय कैलालीका अनुसार जिल्लामा ८ हजार ९ सय १० मुक्त कमैयामध्ये ८ हजार ५ सय ३० परिवारलाई पुनर्स्थापना गरिसकिएको छ। ११ हजार५ सय ५१ परिवार मुक्त कमैया रहेको बर्दियामा ११ हजार ५ सय १ परिवारलाई पुनर्स्थापना गरिसकिएको छ।
त्यस्तै, दाङमा ६ सय ५५, बाँकेमा १ हजार सात सय ७१ र कञ्चनपुरमा ४ हजार ४ सय एक मुक्त कमैया परिवारलाई पुनर्स्थापना गरिएको छ। ५ वटै जिल्लामा हालसम्म २७ हजार ५ सय ५ परिवार मुक्त कमैया मध्ये २६ हजार आठ सय ५८ परिवारको पुनर्स्थापना गरिएको जनाइएको छ।
पुनर्स्थापनाका लागि प्रति मुक्त कमैया परिवारलाई जग्गा खरिदका लागि दुई लाख रुपैयाँ दिने सरकारी कार्यक्रमको विरोधमा मुक्त कमैयाहरू लागेपछि गत आवमा मुक्त कमैया पुनर्स्थापनाको कामले गति लिन नसकेको हो।
सरकारले जमिन किन्न अनुदान लिने मुक्त कमैयालाई घर निर्माण अनुदान बापत ५५ हजार र काठको सट्टा अनुदान रकम बापत एक लाख रुपैयाँ दिने कार्यक्रम ल्याएको थियो।
मुक्त कमैयाका अधिकारका लागि काम गर्ने संघसंस्थाहरूले कैलालीमा अझै चार सय ९२ परिवारलाई पुनर्स्थापना गर्न र १ हजार १ सय ८७ परिवारलाई सट्टा भर्नाबाट पुनर्स्थापना दिन बाँकी रहेको दाबी गरेका छन्। उनीहरूले १ हजार ३ सय ३८ परिवारले घर बनाउन काठ बापतको रकम पाउन बाँकी रहेको जनाएका छन्।
सरकारले २०५७ साउन २ गते कमैया मुक्त भएको घोषणा गरेको थियो। कैलालीका मुक्त कमैयाहरूले बिहीबार विभिन्न कार्यक्रम गरी १९औं मुक्त कमैया मुक्त कमैया दिवस मनाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।