बुटवल- रुपन्देहीको बेलहिया-बुटवल सडकखण्डमा राखिएका बुद्ध मुर्ति तोडफोड गरिएको छ। रुपन्देहीको तिलोत्तमा नगरपालिकाको सिद्धार्थ राजमार्ग अन्तर्गत बेलहिया-बुटवल ६ लेन सडकको बिचको डिभाईडरमा राखिएका बुद्ध मूर्तिहरू तोडफोड भएका हुन्।
तिलोत्तमा नगरपालिकाले सिद्धार्थ राजमार्गमा राखेका ६ लेन सडकको शंकरनगर चोकदेखि नयाँमिलसम्म रहेका ५ वटा बुद्धमूर्तिमा तोडफोड भएको हो।
बुधबार साँझसम्म केही नभएका बुद्ध मूर्ति बिहिबार बिहान तोडफोड भएको अवस्थामा देखिएको नगरप्रमुख वासुदेव घिमिरेले जानकारी दिए।
मूर्ति कसले किन तोडेको हो भन्नेबारे पत्ता लागेको छैन। घटनाको प्रहरी टोलीले अध्ययन सुरु गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। लुम्बिनीको झल्को दिन भन्दै गत आर्थिक वर्षमा तिलोत्तमा नगरपालिकाले आफ्नो क्षेत्रमा पर्ने राजमार्गमा २२ वटा बुद्ध मुर्ति स्थापना गरेको थियो। एउटा मूर्तिको तौल नै १ सय १० किलो छ।
लुम्बिनीको झल्को दिने गरी मुख्य सडकको बिचको डिभाइडरमा राखिएका मूर्ति कसले र किन तोडफोड गरे भन्ने प्रश्न अहिले गम्भिर बनेको छ भने यसमा ठूलै समूहको सहभागिता रहेको आशंका गरिएको छ।
मूर्तिमा भएको तोडफोडलाई लिएर अहिले चौतर्फी विरोध भइरहेको छ। शान्तिका अग्रदूत महामानव गौतम बुद्धको मुर्ति तोडफोड गर्नेलाई पहिचान गरी कारबाही गर्नुपर्ने माग सहित सामाजिक सञ्जालमा चर्को आवाज उठेको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टीको भातृ संगठनले समेत यसको विरोध गरेको छ। 'हाम्रो आफ्नै मौलिक मान्यता, परम्परा र रितिरिवाज तथा सनातन धर्म संस्कृतिलाई देशी विदेशी शक्तिहरुको इसारामा समाप्त पार्न भैरहेका विभिन्न किसिमका असंवैधानिक, मर्यादित तथा अस्वभाविक कार्यहरु भत्र्सनायोग्य छन्,’ विज्ञप्तिमा भनिएको छ।
घटनामा संलग्न दोषीलाई कारबाही गर्नसमेत उसले माग गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।