राजविराज– वर्षा र बाढीकै बीच सप्तरीको सप्तकोसी नगरपालिकाको चौथो नगरसभा सम्पन्न भएको छ। मंगलबार सम्पन्न नगरसभाले आर्थिक वर्ष ०७६/७७ का लागि नीति तथा कार्यक्रमसहित ३६ करोड ५२ लाख १८ हजार १ सय ५२ रुपैयाँ ७६ पैसाको बजेट पारित गरेको छ।
सभामा उपमेयर आशा चौधरीले बजेट व्यवस्थापनको योजना पेस गरेकी थिइन्। जसमा नेपाल सरकारबाट प्राप्त वित्तीय समानीकरण अनुदान ९ करोड ७ लाख, ससर्त अनुदान ८ करोड ४१ लाख, राजस्व बाँडफाटबाट प्राप्त हुने ६ करोड १५ लाख, आन्तरिक स्रोत संकलनबाट १ करोड ६४ लाख, सामाजिक सुरक्षातर्फ सशर्त (केन्द्रबाट) प्राप्त हुने ३ करोड ५० लाख, गत आवको खर्च बचतबाट मौज्दात रहेको रकम ४ करोड ६५ लाख र संघ तथा प्रदेशसहित अन्य दातृ निकायबाट २ करोड ८५ लाख १८ हजार १ सय ५२ रुपैयाँ ७६ पैसा प्राप्त गरिने उल्लेख छ।
यसरी भयो बजेट विनियोजन
प्राप्त बजेटमध्ये नगरका ११ वडामध्ये अधिकतम ७७ र न्यूनतम ५३ लाखसम्म गरी ६ करोड १४ लाख ५० हजार विनियोजन गरिएको छ। संघीय सरकारबाट प्राप्त ससर्त अनुदान (८ करोड ४१ लाख) रकम कार्यक्रम अनुसार खर्च गरिनेछ।
चालुतर्फ कार्यालय व्यवस्थापन, कर्मचारी/जनप्रतिनिधिहरुको पारिश्रमिक तथा अन्य सञ्चालन खर्च तर्फ जम्मा ७ करोड ७९ लाख विनियोजन गरिएको छ। गत आव ०७५/७६ मा सञ्चालन भई सम्पन्न भई नसकेका अधुरा योजनाहरुको भुक्तानी गर्नका लागि सोही आवको बजेटबाट हुबहु अल्या गरी ३ करोड ७२ लाख ६८ हजार १ सय ५३ रुपैयाँ ७६ पैसा विनियोजन गरिएको छ।
नगरपालिका भवन निर्माणका लागि १ करोड, मेयरसँग विकास, नगर गौरवका सडक, मेयर/उपमेयर कप खेलकुद प्रतियोगिता, विपद व्यवस्थापन, नदी नियन्त्रण, हेडबाँध गेष्ट हाउस लगायतका नगर स्तरीय कार्यक्रम र अन्य बिषयगत शाखा मार्फत सञ्चालन हुने कार्यक्रमका लागि ८ करोड ६ लाख विनियोजन गरेको उपमेयर आशा चौधरीले बताइन्।
सामाजिक सुरक्षा भत्ता वितरणका लागि प्राप्त हुने रकम सम्वन्धित लाभग्राहीहरुलाई वितरण गर्नका लागि ३ करोड ५० लाख विनियोजन भएको छ।
संघ र प्रदेशसँग सौहार्दपूर्ण सम्वन्धको विकास तथा सहकारिता लगायतका विषयलाई वजेटले प्राथमिक्ता दिएको मेयर उत्तमकुमार गौतमले वताए।
नगरपालिकाका चुनौती
सभाले करिब ३६ करोडको बजेट पारित गरेपनि नगरपालिकाको आवश्यकताका आधारमा अझै पर्याप्त नभएको मेयर उत्तमकुमार गौतमले बताए। ‘हाम्रासामु धेरै चुनौती छन्, जसलाई अहिलेको बजेटले सम्बोधन गर्न सक्दैन,’ उनले भने, ‘हामीले अधिक उपलब्धि हासिल गर्नेगरी बजेट बनाएका छौं।’
नगरमा राजनीतिक परिवर्तनको अनूभूति हुने गरी समाजलाई आर्थिक सामाजिक रुपले रुपान्तरण गर्ने कार्य सबैभन्दा ठूलो चुनौतीको रुपमा रहेको उनले बताए। यसैगरी, शासन व्यवस्था सञ्चालनका लागि आवश्यक प्रशासनिक संरचनाहरु तयार भई नसकेको र दक्ष जनशक्तिको कमी रहेकाले उपलब्ध स्रोत साधनको कुशल विनियोजन गर्ने, विकास आयोजनाको दक्षतापूर्वक कार्यान्वयन गर्ने र सार्वजनिक खर्चमा अनुशासन कायम गर्ने कार्य चुनौतीपूर्ण देखिएको गौतमको भनाइ छ।
स्थानीय सरकारप्रतिको जनविश्वासलाई मजबुत बनाई प्राप्त संघीय लोकतान्त्रिक शासन प्रणालीलाई थप संस्थागत र दिगो बनाउँदै लैजानुपर्ने जिम्मेवारी स्थानीय तहमा नै रहेकाले ती सबैलाई सम्बोधन गर्ने गरी बजेटको कार्यान्वयनमा जोड दिइने उनको भनाइ छ।
११ मध्ये ५ वडाध्यक्षद्वारा सभा बहिस्कार
चौथो नगरसभासम्म आइपुग्दा नेकपाकै पूर्व माओवादी समूह प्रतिपक्षका रुपमा देखिएको छ।
सप्तकोसी नगरपालिकाका ११ वटै वडा नेकपाले जितेको थियो। तत्कालीन एमालेका ६ र माओवादी केन्द्रका ५ जना वडा अध्यक्ष निर्वाचित छन्।
निर्वाचित पाँचै वडाध्यक्षले चौथो नगरसभा भने बहिस्कार गरेका छन्। हतार र कमजोर व्यवस्थापनका बीच नगरसभा गर्नुपरेकाले औपचारिक निम्ता (पत्र पठाएर) गर्न नसकिएकाले वडाध्यक्षहरु सभामा अनुपस्थित भएको मेयर गौतमले बताए।
सभामा अनुपस्थित नभएका मध्ये वडा ५ का अध्यक्ष दीपक लेखीले भने हालैको बाढीका कारण विपदमा परेका वडालाई प्राथमिकतामा राखेर बजेट बनाउन आग्रह गर्दा सुनुवाइ नभएपछि सभा बहिस्कार गरिएको बताए। नगरसभाबाट पारित भएको नीति, कार्यक्रम र बजेट नगर कार्यपालिकाको बैठकले अनुमोदन नै नगरी सभामा पेस गरिएको उनको आरोप छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।