जनकपुर- जनकपुरमा दुई सातादेखि धर्नामा बसेकाअस्थाइ शिक्षकमाथि प्रहरीले लाठीचार्ज गरेको छ।
अस्थायी शिक्षक आन्दोलन परिचालन समितिले आफ्नो माग पूरा नभएको भन्दै बुधबार मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय अगाडी चक्काजाम गर्न जाँदा उनीहरूमाथि प्रहरीले लाठी चार्ज गरेको हो। अस्थायी शिक्षकहरूलाई पूर्ववत् रुपमा उमेरको हदसम्म पेसाको ग्यारेन्टी र औषधि उपचारको व्यवस्थाको माग गर्दै उनीहरु अषाढ १९ गतेदेखि धर्नामा बसेका थिए।
जीवनको महत्वपूर्ण समय मुलुकको शिक्षा क्षेत्रमा बिताएको र बुढेसकालमा सरकारले आफूहरूको रोजगारी खोसेको उनीहरूको आरोप छ।

बुधबार चक्काजाम गर्ने क्रममा मुख्यमन्त्री कार्यालय अगाडी प्रहरी र आन्दोलनरत शिक्षकबीच झडप समेत भएको थियो। चक्काजामका कारण त्यस क्षेत्रको आवतजावत पनि प्रभावित भएको थियो।
अस्थायी शिक्षक आन्दोलन परिचालन समितिका संयोजक धमेन्द्र कुमार यादवले संघिय सरकारको गलत नितिका कारण प्रदेश २ का करिव १ हजार २ सय शिक्षकको रोजगार खोसिएको बताए।
संविधानको धारा ३३ मा मौलिक हक अन्तर्गत रोजगारीको व्यवस्था गरिएपनि सरकारले आफूहरूलाई चक्काजाम गर्न बाध्य बनाएको संयोजक यादवले बताए।
उनले आज उल्टै मुख्यमन्त्रीकै निर्देशनमा आफूहरूमाथि प्रहरीले लाठीचार्ज गरेको आरोप लगाए।
यता शशीकला भट्टराई, जुरनी मण्डल, रेखा कापड, किरण यादव, मुकेश तिवारी,आनन्द चौरसिया, सलिम अन्सारी लगायतका शिक्षक शिक्षिकालाई प्रहरीले पक्राउ गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।