जनकपुर- उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव नेतृत्वको उच्च स्तरीय टोलीले आज प्रदेश-२ को बाढी प्रभावित क्षेत्रको निरीक्षण गरेको छ।
बुधबार बिहान सेनाको हेलिकप्टर लिएर प्रदेशको निरीक्षणमा निस्केको उक्त टोली रौतहट, सर्लाही, महोत्तरी , सप्तरी, सिरहाको स्थलगत निरीक्षण गर्दै प्रदेशको राजधानी जनकपुर पुगेको थियो।
टोलीमा सहभागी गृहमन्त्री थापाले प्रदेश–२ का प्रमुख सचिव दीपक सुवेदीसँग बाढीको अवस्था बुझ्दै बाढीबाट भएको क्षतिको एकिन विवरणपछि सरकारले राहत तथा पुनःस्थापनामा सघाउने बताए।
उनले चुरे विनाशका कारण तराई मरुभूमि हुने अवस्थामा पुगेको समेत बताए। उनले तराई मधेशको समस्याको नीतिगत रुपमा सुधारका लागि सरकारले काम गरिरहेको जानकारी गराए।
राजपा अध्यक्ष मण्डलका संयोजक अनिल झाले गृहमन्त्रीको जवाफमा आपत्ति जनाउँदै राहतमा सरकारले राजनीति गरेको आरोप लगाए। उनले सरकारलाई पटक पटक तराई मधेशका वास्तविक बाढी पीडितलाई ‘ख’ र अवास्तविकलाई ‘क’ वर्गको राहत वितरण गरेको आरोप समेत लगाए।
त्यस्तै उर्जामन्त्री पुनले कमला, बकैया, बागमतीसहितका नदीले पुर्याएको क्षतिको एकिन गरेर तत्काल मर्मत, उद्धार र राहतको व्यवस्था गर्ने प्रतिवद्धता जनाए।
प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले श्रोत साधनको आभावमा अति प्रभावित क्षेत्रमा अनुगमन गर्न नसकिने अवस्था रहेकाले निरीक्षणका लागि हेलिकप्टर उपलब्ध गराउन संघीय सरकारसँग माग गरे।
मुख्यमन्त्री राउतले बाढी आए लगतै प्रदेश सरकारले राहत तथा उद्धारको लागि तत्काल विपद व्यवस्थापन समितिलाई १० /१० लाख रुपैयाँ उपलब्ध गराएको, मृतकको परिवारलाई ३ लाखको दरले राहत दिने गरिएको घोषणा गरिएको जनाए।
उनले प्रदेश-२ विपद्को हिसाबले अत्यन्त जोखिममा रहेकोले तत्काल प्रदेश सरकारलाई एउटा हेलिकप्टर उपलब्ध गराउन संघीय सरकार संग माग गरे।
प्रदेश सरकारको व्रिफिङपछि उपप्रधानमन्त्री यादवले विपद व्यवस्थापनमा तीन तहका सरकारलाई समन्वय गरेर अघि बढनुको विकल्प नरहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।