गाईघाट- उदयपुरको रौतामाई गाउँपालिकाको वडा नं १ र ८ मा पहिरोले दुई घर पुरिँदा र बगाउँदा दुई बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार गएराति १ बजे गएको पहिरोका कारण रौतामाई गाउँपालिका–८ का रितबहादुर रिठ्ठामगरको घर पहिरोले पुरेको छ।
माथिल्लो डाँडाबाट खसेको पहिरोले घर पुरिँदा रितबहादुरकी ५६ वर्षीया आमा रणमाया मगर बेपत्ता भएको पारिवारिक स्रोतलाई उद्धृत गर्दै उदयपुरका प्रहरी प्रमुख वीरबहादुर बुढामगरले बताए।
घटनास्थलमा आज बिहानै प्रहरी परिचालन गरिएको भए पनि स्थानीय रसुवाखोलाको बाढीका कारण तर्न समस्या हुँदा प्रहरी घटनास्थलमा पुग्न समस्या भइरहेको प्रहरी प्रमुख बुढामगरले जानकारी दिए।
यता रौतामाई गाउँपालिकाको वडा नं १ मा पनि पहिरोले स्थानीय अर्जुन तामाङको घर बगाएको छ। तामाङको घर पहिरोले बगाउँदा उनका ९ वर्षका छोरा बेपत्ता भएका प्रहरीले जनाएको छ।
प्रहरी प्रमुख बुढामगरका अनुसार केही दिनको लगातारको वर्षापछि उदयपुरमा हालसम्म झन्डै एक दर्जन घर पहिरोले बगाएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।