जनकपुर- बिहीबारदेखिको लगातारको वर्षामा आइतबारदेखि कमी आएपछि प्रदेश २ का मुख्य बजार क्षेत्रमा राहत महसुस गरिएको छ। आज पूर्णरुपमा आकाश उघ्रेर घाम लागेको छ।
यद्यपि बाढी तथा डुवानबाट प्रभावित क्षेत्रका जनता भने अझै ढुक्क हुन सकेका छैनन्। बिहीबारदेखि परेको लगातारको वर्षा थामिएपछि अब पुन पुरानै अवस्थामा फर्किन पाइने आशमा किसान, व्यवसायी तथा स्थानीय छन्।
तर, आकाशमा बादल अझै मडारिरहेको देखिँदा भने बाढीको त्रासदी मेटिन नसकेको सर्वसाधारण बताउँछन्। प्रदेश २ प्रहरी कार्यालय जनकपुरका अनुसार प्रदेश २ मा बाढी र डुबानमा परि १८ जनाको मृत्यु भएको छ। अविरल वर्षाका कारण आएको बाढी तथा डुवानका कारण १६ पुरुष र २ महिलाको ज्यान गएको हो।
रौतहटमा ५ जना, सिरहामा ४ जना, धनुषामा ३ जना तथा पर्सा, बारा र महोत्तरीमा २/२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रदेशमा ५/५ जना घाइते तथा बेपत्ता भएको प्रहरीले जनाएको छ।
धनुषाको जनकनन्दनी र चारनाथमा २ पुरुषको शव फेला परेको छ। दुवैको डुबेर मृत्यु भएको अनुमान गरिएको छ। वीरगन्ज–१३ का १४ वर्षीय अनुप पटेलको शव सबैठा खोला किनारमा फेला परेको छ। पर्साको पर्सागढी–१ का १० वर्षीय निखिल पटेलको सिंग्याही खोलामा बगेर मृत्यु भएको छ। त्यस्तै बाराको परवानीपुर–१ का अरविन्द यादवका १८ महिने छोरा विक्कीको घर पछाडि जमेको पानीको खाडलमा डुबेर मृत्यु भएको छ।
बाराको कलैया–१३ मा बाटो बनाउन खनिएको खाल्डोमा डुबेर स्थानीय १३ वर्षीय अजित साहको मृत्यु भएको छ। रौतहटको गौर–३ का ४० वर्षीय शिवमंगल पटेलको टिकुलिया नदीमा डुबेर, गौरकै उमेश राउतको पनि डुबेर मृत्यु हुँदा बाख्रा चराउन गएकी सिरहाको मिर्चैया–४ की १० वर्षीया रागनीकुमारी महतोको खाल्डोमा डुबेर मृत्यु भएको छ। महोतरीको भंगहा–४ रातु खोलामा करिब १५ वर्षीय किशोरको शव फेला परेको छ।
अन्यको पहिचान भने खुल्न सकेको छैन।
रेल-वे लिक बगायो
कमला नदीको पश्चिमी तटबन्ध भत्केर आएको भेलले जनकपुर–जयनगर रेल्वेको नवनिर्मित लिक समेत भत्काएको छ। नेपाल रेल्वेका इन्जिनियर विनोद ओझाका अनुसार खजुरी र इनर्वा रेल्वे स्टेसन बीचमा झन्डै ७० मिटर लिक बाढीले बगाएको छ। कमलाको भेल रेल-वे लिक भएकै क्षेत्रबाट बगेको छ।
कमला नदीको बाढीले आधा दर्जन गाउँ डुबानमा छन्। घर डुबेका सयौं परिवारले विद्यालय र मठमन्दिरमा शरण लिएका छन्।
जनकनन्दनी–१ मलहनिया नजिक शनिबार कमला नदीको पश्चिमी तटबन्ध भत्केको थियो। कमला नदी सरोकार समूहका अध्यक्षसमेत रहेका कांग्रेस जिल्ला सचिव विशेश्वर यादवका अनुसार तटबन्ध भत्किँदा मलहनिया, इनर्वा, फूलबरिया, कठाल, बलहा, पतनुका र ढोलवज्जा लगायतका गाउँ डुबानमा परेका छन्।
फुसको छानो भएका दर्जनौं घर भत्केका छन्। इनरवास्थित प्रहरी चौकीमा पानी पसेपछि सुरक्षाकर्मीसमेत प्रभावित भएका छन्। क्षतिकाे थप विवरणहरू संकलन भइरहेको प्रदेश प्रहरीले जनाएको छ। (तस्बिर- दिनेश शर्मा)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।