सप्तरीमा सप्तकोशीको डुवान प्रभावित क्षेत्रबाट स्थानीयलाई सुरक्षित स्थानतर्फ लगिँदै। तस्बिर- दिनेश शर्मा।
काठमाडौं- लगातारको वर्षापछि आएको बाढी, पहिरो तथा डुवानका कारण देशभर ६५ जनाको मृत्यु भएको छ। सोमबार बिहान ७ बजेसम्मको तथ्यांकअनुसार २४ महिला र ४१ पुरुषको मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ।
बिहीबारदेखिको वर्षाका कारण विशेषगरी प्रदेश १, २, ३, ५ तथा कर्णाली प्रदेशमा बढी क्षति पुगेको छ। प्रहरीका अनुसार हालसम्म ३८ जना घाइते भएका छन्। घाइते हुनेमा १७ महिला र २१ पुरुष छन्।
बाढी तथा पहिरोमा परी ३० जना अझै बेपत्ता छन्। विभिन्न जिल्लामा गरी १२ महिला र १८ पुरुष हराइरहेको प्रहरीले जनाएको छ।
प्रकोपपछिको खोजी तथा उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी गरी देशभर ४० हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ। सुरक्षाकर्मी, स्थानीय तथा विभिन्न सामाजिक संस्थाहरुको सहयोगमा हालसम्म १ हजार ४ सय ४६ जनाको सकुशल उद्धार गरिएको पनि प्रहरीले जनाएको छ।
प्रदेश १ मा २० जनाको मृत्यु
.jpg)
प्रदेशगत हिसाबमा सबैभन्दा बढी क्षति प्रदेश १ मा परेको छ। प्रदेश १ मा धनकुटा बाहेक अन्य ९ जिल्लामा मानवीय क्षति पुगेको छ। भोजपुरमा ५ जनाको मृत्यु हुँदा ओखलढुंगामा ४ जनाको ज्यान गएको प्रहरीले जानकारी दियो। खोटाङमा ३, झापा र उदयपुरमा २/२ तथा पाँचथर, इलाम, मोरङ र सुनसरीमा १/१ जनाको मृत्यु भएको छ। प्रदेश १ मा १६ जना घाइते हुँदा हालसम्म ८ जना बेपत्ता छन्।
प्रदेश १ पछि सबैभन्दा बढी डुवानको चपेटामा परेको प्रदेश प्रदेश २ हो। त्यहाँ बाढी तथा डुवानका कारण १८ जनाको मृत्यु भएको छ। रौतहटमा सवैभन्दा धेरै ५ जनाको ज्यान गयो। सप्तरी र सिरहामा कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ। यस प्रदेशमा समान ५/५ जना घाइते र बेपत्ता छन्।
प्रदेश ३ मा १५ जनाको मृत्यु भएको छ। यो तथ्यांक काठमाडौं उपत्यका बाहेकका जिल्लाहरुको मात्रै हो। यस प्रदेशका ६ जिल्लामा ११ महिला र ४ पुरुषको मृत्यु भयो। मृत्यु हुने महिलाको संख्या बढी छ। त्यसपछि बाढी तथा पहिरोमा मारमा काठमाडौं उपत्यका परेको छ। काठमाडौं, भक्तपुर र ललितपुर गरी ८ जनाको मृत्यु हुँदा ५ घाइते तथा २ जना हराइरहेका छन्। यहाँ भने ज्यान जानेमा पुरुषको संख्या बढी छ।
यसबाहेक पाल्पा, दाङ र डोल्पामा १/१ जनाको मृत्यु भएको छ।
प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको क्षतिको तथ्यांकः

आइतबारबाटै वर्षामा कमी आइसकेकाले अब बिस्तारै नदी तथा खोलाहरुमा पानीको बहाव घट्ने तथा डुवानमा परेका क्षेत्रहरु पनि पुरानै अवस्थामा फर्किने विश्वास गरिएको छ। देशभर सयौंको संख्यामा घरबारविहीन भएकोले राहत तथा उनीहरुको पुनर्स्थापनामा समेत सहजता थपिने जिल्ला स्थित विपद् व्यवस्थापन इकाइहरुले जानकारी दिएका छन्। उनीहरुका अनुसार डुवान, सडक तथा पुल क्षतिग्रस्त हुनु तथा वर्षा नरोकिएका कारण कतिपय स्थानमा सामान्य राहतका सामाग्रीसमेत पुर्याउन सकिएको छैन।
बाढी र पहिरोका कारण देशभरका विभिन्न सडकखण्डमा क्षति पुगेको छ। जसका कारण कतिपय सडकखण्ड सञ्चालनमा आए पनि कतिपय भने अझै सूचारु हुन सकेका छैनन्। जसका कारण यात्रुलाई समस्या थपिएको छ।
यी सडकखण्डहरु अवरुद्ध छन्ः

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।