काठमाडौं- सर्वोच्च अदातलतले आइजिपीमा नवराज सिलावाललाई बढुवा गर्नु भनी दिएको अघिल्लो फैसलामा त्रुटि देखाउँदै सिलवालको नाम आधारहीन रुपमा आएको व्याख्या गरेको छ।
मंगलबार नवराज सिलवालले दायर गरेको रिट निवेदन खारेजीको फैसला सुनाउँदै सर्वोच्चले सिलवालको नाम कानुन सम्मत रुपमा नआएको व्याख्या गरेको हो।
प्रधानन्याधीश गोपाल पराजुलीसहितको वृहत् पूर्ण इजलासले गरेको फैसलामा भनिएको छ, 'सबैभन्दा बढी अंक प्राप्त गर्ने निवेदक प्रहरी नायव महानिरीक्षक नवराज सिलवाल देखिएको भन्ने शब्द परे पनि के कसरी निजको नम्बर सबैभन्दा बढी हो भन्ने आधार र कारण उल्लेख भएको नदेखिएको।'
तत्कालीन प्रधानन्यायाधीश सुशील कार्कीसहित पाँच जना न्यायाधीशको पूर्ण इजलासले कार्यसम्पादन मूल्यांकन अनुसार बढुवा गर्न आदेश दिएको थियो। सरकारले त्यसपछि प्रकाश अर्याललाई आइजिपीमा नियुक्ति गरेको हो।
कार्यसम्पादन मूल्याकंनमा प्रकाश अर्यालकै अंक बढी भएकाले नवराज सिलवालको पक्षमा आदेश जारी गर्नुपर्ने कुनै कारण नदेखिएको सर्वोच्चको अहिलेको फैसलामा उल्लेख छ।
सर्वोच्चको फैसलामा भनिएको छ, 'प्रहरी नायब महानिरीक्षक नवराज सिलवालको अंक १५२ दशमलब ४६७ र प्रहरी नायब महानिरीक्षक प्रकाश अर्यालको अंक १५४ दशमलब २ देखिन आयो। प्रहरी नियमावली २०७१ को नियम ४१ को कानुनी व्यवस्थालाई समेत पालना गरी बढुवा भएकाले विपक्षीको नाममा आदेश जारी गर्न मिल्ने आधार कारण देखिँदैन।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।