डडेलधुरा- ५ दिनदेखि बन्द रहेको डडेलधुरा अस्पतालको सेवा पुनः सञ्चालन गर्नुपर्ने माग गर्दै डडेलधुरा सदरमुकामका स्थानीयवासीले आइतबार जुलुस प्रदर्शन गरेका छन्।
विगत ५ दिनदेखि अस्पतालको बहिरंग सेवा बन्द हुनुका साथै डाक्टरले जिल्ला छोडेपछि अस्पतालको सेवा ठप्प भएको भन्दै तत्काल अस्पतालको सेवा पुनः सञ्चालन गर्नका लागि जिल्ला सदरमुकामवासीले आन्दोलन गरेका हुन्।
बागबजारबाट निकालिएको र्यालीले जिल्ला प्रशासन कार्यालयमा पुगी अस्पतालको सेवा तत्काल सञ्चालन गरी मानिसको स्वास्थ्य सेवा पाउने अधिकारको रक्षा गर्न माग गर्दै डडेलधुराका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेललाई ज्ञापनपत्र बुझाएका छन्। तत्काल अस्पतालको सेवा सञ्चालन नगरे कडा आन्दोलनमा उत्रिने स्थानीयवासी प्रकाश जैरुले बताए।
अस्पतालको सेवा पुनः सञ्चालन गर्नका लागि पहल भइरहेको प्रजिअ पौडेलको भनाइ छ।
अस्पतालमा ढुङ्गामुढा गर्नुका साथै डाक्टरमाथि हातपात गर्नेलाई कारबाहीको माग गर्दै डडेलधुरा अस्पतालका निमित्त मेडिकल सुपेरिटेन्डेन्ट जीतेन्द्र कँडेलबाहेकका अन्य १० जना डाक्टरले जिल्ला छोडेपछि डडेलधुरा अस्पतालको ओपिडी सेवा पूर्णरुपमा बन्द भएको छ। जसका कारण आकस्मिक सेवासमेत प्रभावित बनेको छ।
५ दिनदेखि अस्पतालको ओपिडी सेवा बन्द हुँदा डडेलधुरासहित सुदूरपश्चिमका अन्य ६ पहाडी जिल्लाका बिरामी मर्कामा परेका छन्।
अमरगढी नगरपालिका–११ का रमेश खड्काको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएपछि उनको शव परीक्षणमा ढिलाई भएको भन्दै अस्पतालमा ढुङ्गामुढा गर्नुका साथै डाक्टरमाथि हातपात गरिएको थियो।
आक्रमणपछि चिकित्सकले एक विज्ञप्ति जारी गर्दै सुरक्षाका कारण देखाउँदै दोषीमाथि कारबाही नहुँदासम्म नियमित सेवामा फर्कन नसक्ने जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराएर बुधबारबाट आकस्मिक बाहेकका सेवा बन्द गरेका छन्।
चिकित्सकहरुका अनुसार अमरगढी नगरपालिका–११ का वडाध्यक्ष सूर्यप्रकाश खड्काको नेतृत्वमा आएको भीडले शव परीक्षण गरिरहेका चिकित्सकमाथि आक्रमण गरेका थिए। रासस/फाइल तस्बिर
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।