जनकपुर- बाढीको कारण प्रदेश २ मा आएको विपद् व्यवस्थापनबारे मुख्यमन्त्री लालबाबु राउतले सुरक्षा निकायसँग आइतबार छलफल गरेका छन्।
बैठकमा सुरक्षा निकायका प्रमुखहरुले प्रदेशमा बाढीबाट भएको जनधनको क्षतिबारे मुख्यमन्त्रीलाई जानकारी गराएका थिए।
विपद् व्यवस्थापनमा खटिएको सुरक्षा निकायको लागि लाइफ ज्याकेट, सोलार चार्जर उपकरण, रबर बोट लगायतको उद्दार समाग्रीको व्यवस्थापन गर्नुपर्ने धारणा सुरक्षा निकायका प्रमुखहरुले व्यक्त गरे।
उद्धारपछि राहत वितरण कार्यलाई प्रभावकारी तरिकाले अगाडी बढाउन मुख्यमन्त्री राउतले सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिए।
बैठकमा प्रमुख सचिव दीपक सुवेदी, मन्त्रालयहरुका सचिव, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका प्रदेश प्रमुखहरुको उपस्थिति थियो।
प्रदेश सरकारले राहत वितरणको लागि आठै जिल्लाका विपद् व्यवस्थापन समितिलाई १०/१० लाख, मृतक परिवारलाई तीन लाख आर्थिक सहयोग गर्ने निर्णय यसअघि गरेको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।