जनकपुर- बाढीका कारण धनुषाको अधिकांश भागमा विद्युत आपूर्ति बन्द भएको छ। बाढीका कारण धनुषा जिल्लामा रहेको तीन विद्युत वितरण केन्द्रहरुमध्ये दुई वितरण केन्द्रको विभिन्न स्थानहरुमा विद्युत आपूर्ति बन्द भएको हो।
यद्यपि, जनकपुर वितरण केन्द्रको सबै स्थानमा विद्युत आपूर्ति सुचारू नै रहेको नेपाल विद्युत प्राधिकरणको वितरण केन्द्रले जनाएको छ। धनुषाको पूर्वी क्षेत्रमा ३३ केभी प्रसारण लाइनमा क्षति पुगेपछि त्यस क्षेत्रको अधिकांश गाउँपालिकाहरू अन्धकारमय बनेको छ।
धनुषाको यदुकोहा वितरण केन्द्र अन्तर्गत ३३ केभीको ६ वटा पोल बाढीले ढालेको केन्द्रका प्रमुख सुनील महतोले बताए। विद्युत पोल ढलेपछि अहिले जनकनन्दनी गाउँपालिका, कमला नगरपालिका, सहिद नगरपालिका, विदेह नगरपालिका, औरही गाउपालिका, हंसपुर नगरपालिकामा विद्युत आपूर्ति बन्द भएको छ।
यदुकोहा वितरण केन्द्रका प्रमुख महतोका अनुसार अहिले ढलेको पोलको मर्मत सम्भार कार्य तीव्र गतिमा भइरहेको छ यद्यपि वितरण केन्द्रका सबै स्थानमा बिजुली आउन अझै एक–दुई दिन लाग्ने उनले बताए।
जनकपुर वितरण केन्द्र अन्तर्गत पर्ने लक्ष्मीनिया गाउँपालिका, औरही गाउँपालिका, मिथिला विहारी नगरपालिका, नगराइन नगरपालिका , धनौजी गाउपालिका र जनकपुरधाम उपमहानगरपालिकामा विद्युत आपूर्ति सहज रहेको जनकपुर वितरण केन्द्रका प्रमुख सूर्य नारायण मण्डलले बताए। धनुषाको उत्तर क्षेत्रमा पनि बाढीका कारण विद्युत आपूर्ति अबरुद्ध भएको छ।
महेन्द्रनगर वितरण केन्द्र अन्तर्गत पर्ने विभिन्न गाउँपालिका र नगर पालिकाका छुट्टाछुट्टै स्थानमा विजुलीको पोल ढलेका कारण विद्युत सेवा अवरुद्ध भएको छ । औरही खोलामा आएको बाढीले बिजुलीको ७ वटा पोल बगाएको छ भने ६ वटा पोल ढलेको छ। त्यस्तै चारनाथ खोला वरीपरी ३ वटा बिजुली पोल पानीले बगाएको छ भने जमुनीवास क्षेत्रमा ३ वटा बिजुली पोल तोडेको वितरण शाखाका प्रमुख राजकुमार रमनले जानकारी दिए।
रमनका अनुसार जनकपुर–महेन्द्र सडकखण्डमा मात्रै ६ वटा विजुलीको पोल ढलेको र एउटा टुटेको बताए। महेन्द्र नगर, लालगढ, वीरेन्द्र बाजार, धनुषाधाम सबैला लगायतको स्थानमा साँझसम्म बिजुलीको मर्मत सम्पन्न भए आपूर्ती सूचारु हुने उनले बताए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।