काठमाडौं– अरु विदेशबाट ट्रली गुडाउँदै फर्किएको देख्दा उनलाई पनि निकै रहर लाग्थ्यो,' एक पटक म पनि विदेश जान पाए !'
रहरै रहरमा विदेश जाने सोच बनाइन् भोजपुरकी शर्मिला अधिकारीले।
उनका श्रीमान रोजगारीका लागि युएईमै थिए। उनले श्रीमानसँग आफू पनि रोजगारीका लागि युएई जाने सल्लाह गरिन्। भिजिट भिसामा युएई पुगेकी शर्मीला व्युटिसियन गर्थिन्। तलब मासिक रु ३० हजार थियो।
शर्मीला सुखी थिइन्। 'तर, परदेशमा कमाएको पैसाले कहिलेसम्म रमाउने,' उनको मनमा यही प्रश्नले हानिरहन्थ्यो।
‘हेर्दा राम्रो सहर भएर के गर्नु दशैं तिहार जस्ता चाडपर्व आउँदा साह्रै नरमाइलो लाग्थ्यो,’ शर्मीलाले सुनाइन्।
युएईमा ४ वर्ष काम गरिन् शर्मीलाले। उनका श्रीमान पैसासँग पसिना साट्न युएई जान थालेको १५ वर्ष भइसकेको थियो। परदेशमा भन्दा स्वदेशमै केही गरौं भन्ने शर्मीला र उनका श्रीमान दुवैले सोच बनाएर २०१५ मा नेपाल फर्किए।
हाल उनीहरुले रामकोटस्थित रामलक्ष्मण कृषि फर्म सञ्चालन गरिरहेका छन्। ‘फर्म राम्रोसँग चलिरहेको छ, विदेशमा आफ्नै देशमा काम गर्दा निकै खुसी मिलेको छ,’ शर्मीलाले सुनाइन्।
धनगढी कैलालीका त्रिलोक पनेरु रोजगारीका लागि कोरिया पुगे। कोरियामा कमाइ नराम्रो भएको पनि होइन। उनी मासिक ४ लाखसम्म कमाइ गर्थे।
तर, कोरियाको ४ लाख कमाइ छाडेर आफ्नै देशमा उद्यम गर्न मन लाग्यो त्रिलोकलाई। २ वर्ष कोरिया बसेर उनी नेपाल फर्किए।
हाल उनी कोरियाबाट नेपाल फर्किएर धनगढीमै आलोक गार्मेन्ट सञ्चालन गरिरहेका छन्। सँगसँगै उनी कोरियन भाषा परीक्षण केन्द्रमा समेत काम गर्छन्।
‘कोरियामा आफ्नो उर्जाशील समय खेर फाल्न मन लागेन केही वर्ष रोजारी गरेर आफ्नै देशमा फर्किएँ,’ त्रिलोकले भने।
‘चालिस कटेपछि रमाउँला भन्दै आफ्नो उर्जाशील समय परदेशमा सकेर रित्तै जस्तो खाक्रो शरीर लिएर फर्कनु भन्दा चालिस वर्ष अगाडिको उमेरमा आफ्नै देशमा उद्यम गर्नुपर्ने कुरा सबै युवाले बुझ्न जरुरी छ,’ त्रिलोकले थपे।
त्रिलोक जस्तै झापाका ३७ वर्षीय दीपक चापागाँईंको कथा पनि मिल्दो छ। रोजगारीका लागि कोरिया पुगेका दीपक पानीजहाज बनाउने कम्पनीमा कार्यरत थिए।
कमाइ मासिक ३ लाख ५० हजारसम्म थियो। उनको मेहेनत देखेर कम्पनीले उनलाई मासिक थप ५० हजार बोनस दिन्थ्यो। तर, पैसाले मात्रै दीपकलाई खुसी दिन सकेन।
उनले कोरिया रोजगारीमा ४ वर्ष बिताएर नेपाल फर्किए। कोरियाको राम्रो काम र कमाइ छाडेर फर्किएका दीपकले झापास्थित डाइमण्ड स्टिल कम्पनी खोले।
सुरुमा उनले ७० लाख लगानी गरे। कोरियाको राम्रो जागिर छाडेर झापामा कम्पनी खोल्दा छिमेकीहरूबाट दीपकले राम्रो प्रतिक्रिया पाएनन्।
‘कम्पनी खोलेर पैसा सबै डुबाउने भयो, बरु कोरिया नै जानु नी,’ दीपकलाई आफ्नै आफन्तहरूले हतोत्साहित गर्थे।
सुरुमा त उनलाइ पनि डर लाग्थ्यो। कम्पनी नचल्ने हो कि तर विस्तारै काम गर्दै गएपछि दीपकको कम्पनी राम्रोसँग चल्यो।
७० लाख पुँजीबाट सुरु गरेको उनको कम्पनी हाल ३ करोड बराबरको बनेको छ। दीपकलाई देशभित्रैको उद्यमले खुसी बनाएको छ।
विदेशबाट कमाएर ल्याएको पैसा कस्तो ठाउँमा लगानी गर्ने भन्ने सोचेर व्यवसाय गर्नुपर्ने उनको भनाइ छ।
‘विदेशबाट फर्किएर जोखिम मोलेर देशमै काम गर्ने सोच बनाएका युवाहरूलाई सरकारले पनि सहयोग गर्नुपर्छ,’ उनले थपे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।