काठमाडौं– नेपाल पत्रकार महासंघ र सामुदायिक रेडियो प्रसारक संघ नेपाल एवम् केन्द्रीय बालकल्याण समितिको सहकार्यमा 'बालसंवेदनशील राष्ट्रिय पत्रकारिता पुरस्कार' र 'बालसंवेदनशील सामुदायिक रेडियो राष्ट्रिय पत्रकारिता पुरस्कार' आइतबार प्रदान गरिएको छ।
नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयमा सम्पन्न पुरस्कार वितरण कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री माननीय थममाया थापाले विभिन्न विधाका पुरस्कारहरु वितरण गरिन्।
विगत तीन वर्षदेखि प्रदान गर्दै आएको उक्त पुरस्कारमा छापा पत्रकारितातर्फ उपत्यकाबाट प्रकाश सिलवाल र हिमाल लम्साल संयुक्त रुपमा पुरस्कृत भइन् भने उपत्यका बाहिरबाट खगेन्द्र अधिकारी पुरस्कृत भए।
त्यसैगरी रेडियो पत्रकारितातर्फ रमाकुमारी खड्का र रुमा रिजाल, टेलिभिजन पत्रकारितातर्फ धनविर दाहाल, कोपिला पोखरेल र धनमाया भुषाल तथा बाल कार्यक्रम प्रस्तोतातर्फबाट शोभिता रिसाल र शर्मीला खनाल पुरस्कृत भएका छन्।
त्यसैगरी सामुदायिक रेडियो प्रसारक संघ नेपाल र समितिको सहकार्यमा वितरण गरिएको पुरस्कारबाट रेडियो बाजुरा पुरस्कृत भएको छ।
कार्यक्रममा आफ्नो मन्तव्य व्यक्त गर्दै मन्त्री थापाले बालबालिकाको हक अधिकार सुनिश्चित गर्न नेपाल सरकार प्रतिवद्ध रहेको बताउँदै यसका लागि सञ्चार क्षेत्रले खेलेको भूमिकाको बारे प्रशंसा गरिन्।
उनले यस्तो पुरस्कारले पत्रकारहरुलाई बालबालिकाका मुद्दाहरू उजागर गर्न प्रोत्साहित गर्ने भएकाले नेपाल पत्रकार महासंघ, सामुदायिक रेडियो प्रसारक संघ र केन्द्रीय बालकल्याण समितिले वार्षिक रुपमा यो पुरस्कार प्रदान गर्ने गरेकोमा धन्यवाद व्यक्त गरिन्।
नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले पत्रकारहरुलाई सामाजिक विषयहरुमा लेख्नलाई प्रोत्साहित गर्ने उद्देश्यले महासंघले यस्ता पुरस्कारहरु वितरण गर्ने निर्णय गरेको बताए। महासंघले सीमित निकाय र संस्थाहरूसँग मात्र सहकार्य गरी पुरस्कारहरू वितरण गर्ने गरेको पनि उनले बताइन्।
सामुदायिक रेडियो प्रसारक संघ नेपालका अध्यक्ष सुभाष खतिवडाले बाल अधिकार प्रवर्द्धन र सुनिश्चिततामा सामुदायिक रेडियोहरूले खेलेको भूमिका स्मरण गर्दै यस्तो पुरस्कारले सामुदायिक रेडियोहरूको हौसला बढाउने विचार व्यक्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।