सिराहास्थित कमला नदी पुलको उत्तरतर्फ बन्दै गरेको पक्की पुल अनुगमन गर्न गएको इन्जिनियरसहित ९ जनाको उद्धार गर्दै सेना। तस्बिर- नेपाली सेना।
काठमाडौं- बिहीबारदेखिको अविरल वर्षाका कारण देशका विभिन्न स्थानहरुमा आएको बाढी/पहिरो प्रभावित क्षेत्रमा खोजी तथा उद्धारका लागि नेपाली सेनाले आफ्ना ८ हजार फौज परिचालन गरेको छ।
विभिन्न स्थानहरुमा तैनाथ युनिटहरुबाट २१ जिल्लाको ३२ स्थानमा ८ हजार फौज परिचालन भई उद्धारको कार्यलाई जारी राखिएको नेपाली सेनाले जनाएको छ।
सेनाले पछिल्लो समय सिराहा जिल्लाको कमला टापुमा फसिरहेका इन्जिनियरसहित ९ जनाको टोलीलाई शनिबार राति उद्धार गरेको छ।
बसविटा वडा नम्बर ६ मा (पूर्वपश्चिम राजमार्गको कमला नदीको पुलबाट २०० मिटर उत्तरतर्फ कमला टापु भन्ने स्थानमा) बन्दै गरेको पक्की पुल अनुगमन गर्न गएको इन्जिनियरसहित ९ जनाको टोली २७ गतेदेखि त्यहाँ फसेको थियो।
त्यसका अलवा सेनाले विभिन्न जिल्लामा उद्धारका काम गरेको छ।
खोजी तथा उद्धारका लागि सेनाले आफूसँग भएका विपद्को समयमा प्रयोग हुने श्रोत, साधन तथा जनशक्ति प्रयोग गरेको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।