बनेपा– अघिल्लो दिनदेखि नै पानी दर्किरहेको थियो। घरमूली रामप्रसाद दंगाल बिहान दुध लिएर डेरी गएका थिए।
आठ जनाको परिवार थियो। जेठा छोरा विदेशमा र कान्छा छोरा बुहारी बनेपा बजारमा बस्दै आएका थिए।
शुक्रबार बिहान भने घरमा चार जनामात्र थिए, रामप्रसादको श्रीमती ५५ वर्षीया गोमा, बुहारी सुशीला, सात वर्षीया नातिनी सुहाबी र ३ महिनाकी नातिनी अनुष्का।
'दशा बाजा बजाएर आउँदैन' भनेजस्तै भयो रामप्रसादको परिवारमा।
घरमाथि बारी थियो। अविरल परिरहेको पानीले बारीको कान्लो अचानक घरमाथि झर्यो।
घटनालगत्तै छिमेकी जम्मा भए। उद्धारका क्रममा पहिरोमा पुरिएका बुहारी सुशीला र तीन महिनाकी नातिनी अनुष्काको भने उद्धार गर्न त सफल भए। तर, गोमा र नातिनी सुहाबी भने प्राण गुमाइसकेका थिए।
'गाउँमा मान्छेहरू एकै चोटी जुटेकै कारण हामीले बुहारी र सानी नानीलाई समेत बचाउन सफल भयौँ,' छिमेकी रीता दंगालले भनिन्। घटना भएलगत्तै छिमेकी आफू र आफ्नी छोरी मिलेर गाउँलेलाई गुहार गरेको रीता बताउँछिन्।
'सबै जना एकैछिनमा जम्मा भयौँं र बुहारी र सानी नानीलाई निकाल्यौं,' रीताले भनिन्।
'हामीले घटनालगत्तै सबै जुटेर उद्धार गर्न लाग्यौं, तर पनि सबैलाई बचाउन सकेनाैं,' छिमेकी लालप्रसाद सापकोटाले दुखेसो पोखे।
घाइते बुहारी र नातिनी भने शीर मेमोरिलयमा उपचाररत छन्।
घटनालगत्तै आफूहरू उद्धारमा लागिपरेको बनेपाका प्रहरी नायब निरीक्षक विष्णु सापकोटाले बताए।
रामप्रसादले भूकम्पको पहिलो किस्तावापत रु ५० हजार लिएका थिए। नयाँ घर बनाउँदै थिए। तर,घर बनाउने जग्गामाथि विद्युत् प्रसारण लाइनको मुख्य तार परेका कारण बनाउन सकेका थिएनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।