प्युठान- प्युठान-भालुवाङ सडकखण्ड फेरि अवरुद्ध भएको छ।
बर्सात हुनासाथ राजमार्गसँगै जोडिएका ग्रामीण भेगका सडकबाट आएको हिलो र लेदोले खहरेदेखि अधेँरी पाकुरी हुँदै बड्डडाडासम्मका विभिन्न स्थानमा पटकपटक राजमार्ग जाम हुने गरेको छ। अहिले पनि मुसलधारे झरी परिरहेकाले माथिबाट लेदो आउने क्रम नरोकिएको स्थानीयले बताए।
गएरातिदेखि फेरि आवातजावत ठप्प भएको छ। पानी परिरहेकाले पहिरो हटाउन समस्या भएको प्रहरीले जनाएको छ। पहिरो खसेपछि अहिले रोल्पा एवं प्युठान आउजाउ गर्ने गाडी बाटोमै रोकिएका छन्। यात्रुहरु अलपत्र परेका छन्।
यस स्थानमा वर्षा सुरू भएसँगै पहिरो गएर घन्टौं सडक अवरुद्ध भइरहने हुनाले बारम्बार यात्रुहरुले सास्ती खेप्नुपरेको छ। पहिरो हटाउन प्युठान प्रहरीले डोजरसहितको प्रहरी टोली परिचालन गरेको छ। प्युठानका प्रहरी नायव उपरीक्षक निर्मल बुढाथोकीले पहिरो हटाउन डोजरसहित प्रहरी परिचालन गरिएकोले केहीबेरमै सडक सुचारु हुने जानकारी दिए। पछिल्लो साता मात्रै यहाँ आधा दर्जन पटक बाटो अवरुद्ध भएको छ।
सो सडकखण्डमा कमसल माटो भएकाले हल्का वर्षा हुँदा पनि माथिबाट खस्ने समस्या छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।