जनकपुर- दुई दिनदेखिको लगातारको वर्षाका कारण महोत्तरी, धनुषा र सर्लाही जिल्लाको संयुक्त कारागारका रुपमा रहेको जलेश्वर कारागार डुबानमा परको छ।
मुसलधारे पानीका कारण जलेश्वर कारागार जलमग्न भई कारागारभित्र पानी पसेपछि कैदीबन्दीहरुको व्यवस्थापनमा समस्या भएको निमित्त जेलर मकसुदन महासेठले बताए।
जलेश्वर नगरपालिका–२ स्थित राणाकालीन उक्त कारागार होचो स्थानमा रहेकाले वर्षाका बेला जलमग्न बन्ने गरेको निमित्त जेलर महासेठको भनाइ छ।
कारागारको बाहिर मूलगेटदेखि भित्र कैदीबन्दी प्रवेश गर्ने मूल ढोकासम्म दुई फिटसम्म पानी जमेको छ। त्यसैगरी कारागारको भित्र कैदीबन्दी बस्ने बन्दीगृहबाट पानी निकासको नाला भए पनि बाहिरको पानीको तह बढी हुँदा कारागारको अवस्था अस्तव्यस्त भएको चौकीदार (मूल कैदी) श्यामसुन्दर यादवले बताए।
४ सय ६३ कैदीबन्दी रहेको जलेश्वर कारागारमा वर्षा र बाहिरी नालाबाट आएको पानीले गर्दा भित्रका कैदीबन्दीलाई खाना पकाउन, खान, बस्न, सुत्न, शौचालय जान र घुमफिर गर्न समस्या भएको चौकीदार यादवले जानकारी दिए।
त्यस्तै, कारागार सुरक्षाका लागि खटिएका सशस्त्र प्रहरी र नेपाल प्रहरी बस्ने ब्यारेकसमेत वर्षाको पानीले प्रभावित बनेको जनाइएको छ। सुरक्षाकर्मीलाई पानीमै ड्युटी बस्नुपरेको छ। पानीले कारागारको प्रशासनिक कामकाज समेत प्रभावित भएको जेलर महासेठले बताए।
समस्याबारे जलेश्वर नगरपालिकालाई पटक-पटक मौखिक आग्रह र लिखित पत्राचार गर्दा पनि कुनै सुनुवाइ नगरिएकाले समस्या हुने गरेको महासेठको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।