प्युठान– बाग्दुला–भीमगिठे सडकको सर्भे अन्तिम चरणमा पुगेको छ। गत बैसाख दोस्रो साता बाग्दुलादेखि तुन्दी कन्स्ट्रक्सनले सर्भे सुरु गरेको थियो।
बाग्दुलादेखि बागलुङको बलिगाड–१० डर्लिङसम्मको काम अब १० किमिमात्रै बाँकी रहेको सर्भेयर गौरव खनालले बताए।
दशैं लगत्तै ठेकेदारले निर्माणको काम सुरु गर्ने उनले बताए। सडक विभाग सडक सुधार आयोजना अन्तर्गत निर्माण हुने यो सडकको सर्भे गर्न ६ जनाको प्राविधिक टोली खटिएको खनालले जानकारी दिए।
एम्सी इन्डियन कम्पनी र तुन्डी नेपाल जेभी ललितपुरले सडक निर्माणको जिम्मा पाएका छन्।आवश्यक रेखदेखका लागि गुल्मीको अग्लुङ्फेदीमा निर्माण कम्पनी र परामर्शदाताको कार्यालय समेत स्थापना गरिएको छ।
एक्जिम बैंकमार्फत् भारत सरकारको ऋण सहयोगमा प्यूठानको बाग्दुलादेखि बागलुङको भीमगिठेसम्म ७४ किमि दूरी कालोपत्रे गर्न लागिएको हो।
पौने ३ अर्ब रुपैयाँ लागत रहेकोे सडक योजना आगामी ३ वर्षभित्रमै निर्माण सम्पन्न हुने सडक सुधार विकास योजना काठमाडौंका संयोजक सुशीलबाबु ढकालले बताए।
२ लेनको हुनेगरी सडकको दुवै तर्फ १५–१५ मिटर फराकिलो बनाइने छ। हाल ट्«याक खोलिएको सडकलाई ९ मिटर चौडा बनाएर ७ मिटर कालोपत्रे गरिने स्टिमेट छ।
बाग्दुलादेखि अर्खासम्म ४४ किमि कच्ची सडक निर्माण भइसकेको छ। सडकले प्यूठानतर्फ प्यूठान नगरपालिका, झिमरुक र गौमुखी गाउँपालिका क्षेत्रलाई समेटेको छ भने गुल्मीको मदाने गाउँपालिकाको अग्लुङ र बागलुङको बडीगाड गाउँपालिका समेटेको छ।
सडक आसपासमा सयौं भौतिक संरचना छन्। सडक क्षेत्रमा रहेका भौतिक संरचनाको मूल्यांकनका आधारमा क्षतिपूर्ति दिई हटाएर फराकिलो बनाइने ढकालले बताए।
सडकको सन् २०१६ मा डिटेल सर्भे गरिएको थियो । सडक निर्माणपछि सडक क्षेत्रका १० हजार ९ सय १० घरधुरीलाई प्रत्यक्ष फाइदा पुग्ने बताइएको छ। प्यूठान, रोल्पा, गुल्मी, अर्घाखाँची र बागलुङबासीलाई केन्द्रीय राजधानी जोड्ने सरल मार्गको रुपमा पनि सडकलाई लिइएको छ।
यो सडक काठमाडौं जाने वैकल्पिक मार्गसमेत हुने बताइएको छ। म्याग्दी, बागलुङ क्षेत्रकालाई पूर्व–पश्चिम राजमार्ग हुँदै पश्चिमको यात्रा गर्न सहज हुनेछ ।
सडकले त्रिदेशीय सम्बन्ध राख्ने समेत बताइएको छ। भारतको कोइलावास, दाङको भालुबाङ, प्यूठानको बाग्दुला, बागलुङको भीमगिठे भएर म्याग्दीको बेनी र मुस्ताङ हुँदै चीन जोड्ने उक्त सडकको लक्ष्य रहेको छ।
पूर्व–पश्चिम रागमार्गअन्तर्गत दाङको भालुबाङदेखि भीमगिठेसम्म १ सय ३२ किमि दूरीमा मध्यपहाडी राजमार्ग जोडिन्छ। भालुबाङ–बाग्दुला ५९ किमि दूरी यसअघि नै कालोपत्रे भइसकेको छ।
‘सडक निर्माणले यस क्षेत्रको समग्र आर्थिक विकासमा फड्को मार्ने आशा गरिएको छ,’ गौमुखी २ अर्खाका वडा अध्यक्ष डोर बहादुर रानाले भने।ब
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।